सामाजिक सञ्जालमा अफवाह नफैलाउन युएईमा रहेका नेपालीलाई आग्रह

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित सुरक्षा परिस्थिति ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ ।

दूतावासले ‘एडभाइजरी–३’ जारी गर्दै यूएईको वर्तमान परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरेकाे हाे।

यस्तो गतिविधिले सुरक्षा परिस्थितिबारे भ्रम फैलिन सक्ने भन्दै नेपालीहरूलाई जिम्मेवार बन्न दूतावासले अपिल गरेको हो । यूएईमा बसोबास गर्ने सबैले त्यहाँको कानुन पालना गर्नुपर्ने भएकाले गैरकानुनी तथा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ ।

यदि यस्ता कार्यमा संलग्न पाइए यूएईको कानुन अनुसार १ देखि ३ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिबाना हुन सक्ने उल्लेख गरिएको छ ।

त्यस्तै मिसाइल वा ड्रोन अवरोध गर्दा जमिनमा खसेका अवशेष नजिक नजान, तस्वीर नखिच्न वा त्यसलाई सार्वजनिक नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्णपालना गर्न तथा सत्य र आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका आधिकारिक स्रोतहरू मात्र हेर्न नेपाली समुदायलाई सुझाव दिएको छ । साथै, अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज पनि नियमित हेर्न अनुरोध गरिएको छ ।

यूएईको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, दुबई र अबुधाबी मिडिया कार्यालय तथा इमिरेट्स न्युज एजेन्सीबाट जारी हुने आधिकारिक सूचना मार्फतमात्र जानकारी लिन दूतावासले आग्रह गरेको छ ।

दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here