काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा एक जना नेपालीसहित विभिन्न देशका ५५ जना नागरिक पक्राउ परेका छन् ।
जनमतलाई भ्रामक बनाउने, राष्ट्रिय सुरक्षा र स्थिरतालाई हानि पुर्याउने र इरानी आक्रामणको प्रशंसा गर्ने उद्देश्यले डिजिटल सामग्री प्रकाशन र प्रसारण गर्ने काममा संलग्न भएको आरोपमा नेपालीसहित ५५ जनालाई पक्राउ गरिएको हाे। पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दै प्रतिवादीहरूलाई विभिन्न कार्य गर्ने तीन समूहमा विभाजन गरिएको थियो ।
जसमा आक्रमण र त्यसको प्रभावको प्रामाणित फुटेज प्रकाशन गर्ने, एआईमार्फत बनावटी सामग्री बनाएर प्रकाशन गर्ने र मिसाइल तथा ड्रोन आक्रमण गर्ने इरानको तारिफ तथा प्रशंसा गर्ने कार्य गरेको पाइएको हो ।
पक्राउ पर्नेहरूमा १ जना नेपालीसहित, फिलिपिनो, भियतनामी, पाकिस्तानी, इरानी, बंगलादेशी, क्यामरून तथा भारतीय नागरिक रहेका छन् । उनीहरूले मिसाइल तथा ड्रोन आक्रमणलाई एआईमार्फत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेर समाजमा भ्रम सिर्जना गरेको, क्षेप्यास्त्रहरू प्रहार भइसकेपछि एआईमार्फत नक्कली भिडियो बनाएर पोष्ट परेको अभियोग छ ।
उनीहरूले यसरी समुदायमा चिन्ता र आतंक फैलाएको, देशको सुरक्षाबारे भ्रामक कथाहरू प्रवर्द्धन गर्न शत्रुतापूर्ण सामग्री सार्वजनिक गरेको, विस्फोट, आगलागी र उठिरहेको धुँवाको कृतिम दृश्यहरू बनाएको अभियोग छ ।
गलत सूचनाको जानाजानी प्रसार, सार्वजनिक सुरक्षामा खतरा, व्यक्तिहरूमाझ डर फैलाउने र सामाजिक स्थिरतालाई कमजोर पार्ने जस्ता कार्यहरू कानून अन्तर्गत कम्तीमा एक वर्ष कैद र कम्तीमा १ लाख दिराम जरिवाना हुन सक्ने यूएईको कानूनी व्यवस्था छ ।

























