
काठमाडौँ, २ चैतः ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तरराष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको छ ।
फागुन ३० देखि चैत आजसम्म (१४–१६ मार्च) काठमाडौँमा भएको सम्मेलनले विश्वभर छरिएका नेपाली समुदायलाई नेपालको समृद्धि, विकास तथा विश्वव्यापी रूपमा रहेका नेपालीको हित प्रवर्द्धनका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
सम्मेलनले नेपालमा गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । सम्मेलनले रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा गैरआवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने र लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग माग गरिएको छ ।
सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सङ्कटमा परेका नेपालीको उद्धार, राहत र पुनःस्थापनामा नेपाल सरकार तथा अन्तरराष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ । यसैगरी, विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तरराष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
घोषणापत्रमा प्रवासमा जन्मिएका दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति र इतिहाससँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने उल्लेख छ । सम्मेलनले जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तनमूलक उद्योगमा गैरआवासीय नेपालीको लगानी प्रवर्द्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।
यसैगरी, विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुभव र पुँजीलाई मातृभूमिसँग जोड्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने सामूहिक सङ्कल्प पनि गरिएको छ । सम्मेलनमा चार हजार २८६ प्रतिनिधि सहभागी भएका थिए । तीमध्ये चार सयभन्दा बढी प्रतिनिधि काठमाडौँमा भौतिक र बाँकी प्रतिनिधि अनलाइनमार्फत सहभागी भएका आयोजकले जनाएको छ ।























