७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि टी–२०आई टोलीबाट हटाइएका छन् । नयाँ कप्तान दीपेन्द्रसिंह ऐरी रहेका छन् । यस्तै यूएईको टोलीमा पनि भारतबाट बसाइ सरेर मापदण्ड पूरा गरेका केही नयाँ खेलाडीहरू समावेश भएको चर्चा छ । कप्तान भने मुहम्मद वासीम नै रहेका छन् ।
नेपाल र यूएई हालसम्म टी २०आईमा ११ पटक भिडेका छन् जहाँ नेपाल ६ अनि यूएई ५ पटक विजयी भएका छन् । कीर्तिपुरमा भने एकमात्र खेल भएको छ जुन् यूएईले जितेको थियो । नेपाल र यूएईबीच साढे दुई वर्षपछि कीर्तिपुरमा खेल हुन लागेको हो । पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा यहाँ भिडेका थिए । यस्तै नेपाली क्रिकेट टोलीले दुई वर्षपछि घरेलु मैदानमा खेल्दैछ । पछिल्लोिटक सन् २०२४ मार्चमा भएको टी–२०आई शृंखला खेलेको थियो ।
























