सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

२३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउनेगरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आम जनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिए ।

सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले वर्तमान सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवद्र्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए ।

उनले सबै निकायलाई वार्षिक योजना तथा कार्यक्रम लक्ष्यअनुसार सम्पन्न गरी विकास र आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्याउन आग्रह गरे । बैठकमा प्रस्तुत विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगती हासिल भएको छ भने भौतिक प्रगती ७० प्रतिशत भन्दामाथी पुगेको छ ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमहरुको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र निर्धारित समयभित्र लक्ष्य हासिल हुने अपेक्षा गरिएको निष्कर्ष निकालिएको छ ।मन्त्रालयका योजना तथा अनुगमन महाशाका प्रमुख एवं सहसचिव शिवकुमार सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए । विभिन्न निकायका प्रमुखहरुले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।

तीन महिनामा लक्षित कार्यक्रमहरुको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र आर्थिक वर्षभित्र वार्षिक रुपमा लक्षित कार्यक्रम पुरा हुनेक्रममा रहेको बैठकले निष्कर्ष निकालेको छ । बैठकमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका अधिकारी तथा मन्त्रालय मातह विभिन्न निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here