काठमाडौँ, ४ जेठः राजधानीमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि छ विकेटको जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितको लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ९८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ७४ रनको योगदान गरेका हुन् । इशान पाण्डेले ६१ बलमा पाँच चौका र दुई छक्काको सहायतामा ५५ रन बनाउँदै मैदानबाट बाहिरिए भने आसिफ शेखले २९ रन जोड्दा कुशल भुर्तेलले २८ रन जोडे ।
बलिङतर्फ स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिँदा ब्राण्डन म्याकमुलनले एक विकेट झारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले ३९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा समेटियो ।
स्कटल्यान्डका लागि ब्रान्डम क्याकमुलेनले सर्वाधिक ७३ रनको योगदान दिए । उनले ४४ बलमा छ चौका र छ छक्का प्रहार गर्दै ७३ रनको योगदान गरेका हुन् । त्यसैगरी माइकल इङ्ग्लिसले चार चौका र एक छक्काको सहायतामा ५१ रन बनाए । जर्स मुन्सीले २१ रन बनाउँदा मार्क वाटले २० रन जोडे ।
बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट झारे । त्यस्तै दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र नन्दन यादवले समान एकरएक विकेट लिए ।
यो जितसँगै विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोतिगामा नेपाल २२ अङ्कका साथ अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यता पराजित स्कटल्यान्ड भने ३८ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा यथावत छ ।





















