९ जेठ, काठमाडौं । इन्डोनेसियाली महिला आरोही नाद्या जियानिफाले नेपालस्थित ६ हजार ८१२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेकी छन् । उनले यही जेठ २ गते हिमालको चुचुरोमा पुग्न सफल भएको इन्डोनेसियाली दूतावासले जनाएको छ ।
इन्डोनेसियन वुमेन्स रेड एण्ड ह्वाइट एक्सपेडिसन आमादब्लम नेपाल (ईएमपीपीआईएएन)–२०२६ अन्तर्गत गरिएको उक्त आरोहणलाई इन्डोनेसियाली महिलाको साहस, क्षमता र अन्तर्राष्ट्रिय हिमाली आरोहणमा देखिएको दृढताको प्रतीकका रूपमा लिइएको छ ।
यो अभियान विश्वका तीन ठूला हिमाल आरोहण गर्ने दीर्घकालीन योजनाको पहिलो चरणका रूपमा सञ्चालन गरिएको जनाइएको छ । अभियानअन्तर्गत सन् २०२७ मा नेपालकै मनास्लु हिमाल तथा अन्तिम लक्ष्यका रूपमा पाकिस्तानस्थित केटु हिमाल आरोहण गर्ने योजना रहेको छ ।
इन्डोनेसियामा महिला अधिकार तथा समान अवसरका पक्षमा आवाज उठाएकी राष्ट्रिय व्यक्तित्व आर.ए. कार्तिनीको आदर्शलाई आत्मसात् गर्दै गरिएको उक्त अभियानले महिलालाई साहसिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।
नाद्या गत अप्रिल २९ मा नेपाल आइपुगेकी थिइन् ।
उनलाई नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल सहित नेपालस्थित इन्डोनेसियाली समुदायले स्वागत गरेका थिए । आरोहणका क्रममा उनले बेस क्याम्पदेखि क्याम्प–१ र क्याम्प–२ सम्म क्रमिक अनुकूलन गरेकी थिइन् । प्रारम्भिक चरणमा नेपाली गाइड पासाङ शेर्पाले साथ दिएका थिए भने अन्तिम आरोहणका क्रममा सोनाम शेर्पा र पुर्बा तामाङ सहभागी रहेका थिए ।
लगभग १८ देखि १९ घण्टासम्मको कठिन हिमाली यात्रापछि नाद्याले सफलतापूर्वक आमादब्लमको चुचुरोमा पुग्न सफल भएको जनाइएको छ । आरोहणपछि उनी सकुशल काठमाडौँ फर्किएकी छन् ।
यस उपलब्धिको सम्मानस्वरूप नेपालस्थित इन्डोनेसियाली समुदाय र बंगलादेशस्थित इन्डोनेसियाली दूतावासका प्रतिनिधिहरूले स्वागत कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा आमादब्लम सफल आरोहण गर्ने अर्की महिला आरोही फुर्की स्यारोनीलाई पनि सम्मान गरिएको थियो ।
हालसम्म आमादब्लम हिमाल सफल आरोहण गर्ने इन्डोनेसियाली आरोहीको संख्या १२ पुगेको बताइएको छ । दूतावासका अनुसार नेपालका हिमालहरूमा आरोहण गर्नु केवल साहसिक यात्रा मात्र नभई उद्देश्य, सपना र राष्ट्रिय गौरवसँग जोडिएको अभियान भएको उल्लेख गरिएको छ ।



















