गृहमन्त्रीले भने : सूचना चुहाउनेलाई नियालिरहेको छु

२० असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेहरुमाथि आफुले लामो समयदेखि निगरानी गरिरहेको बताएका छन् ।

आज सामाजिक सञ्जालमा लेख्दै उनले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति लामो समयदेखि नियालिरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘राज्यको संवेदनशिल सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठन माथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ।