शंकर पाण्डे मुक्तिको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक

काठमाडौं। गीतकार शंकर पाण्डे मुक्तिको सामाजिक सन्देश बोकेको नयाँ गीत ‘मेरो आफ्नै संसार’ बिहीवार काठमाडौमा सार्वजनिक गरिएको छ । मानव सेवा आश्रममा आस्रित जेष्ठ नागरिकहरुका बिचमा आयोजित एक विशेष समारोहबीच उक्त गीत सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा उपस्थित रहेको उक्त कार्यक्रम गीतकारको आमा सेतु कुमारी पाण्डेको सभापतित्वमा संचालन भएको थियो ।

प्रस्तुत गीतले जीवन, जगत, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने कीर्तिमानी सङगीतकार सन्तोष श्रेष्ठले सङ्गीत भर्नुभएको छ, गीतमा आधुनिक सङ्गीत र भावनात्मक शब्द संयोजनले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको भनाई गीतकार मुक्तिको रहेकोछ ।

सार्वजनिक गीतको भिडियो चलचित्र निर्देशक माधवराज खरेलले तयार गर्नुभएको हो । भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयामलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । म्युजिकल फिल्ममा लगानी र कथा पनि स्वयम गितकार मुक्तिकै रहेको छ। भिडियोमा कलाकारहरू दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतको अभिनय छ । साथै बाल कलाकार आरुश पाण्डे, मीरु पराजुली, समाज पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको अभिनयले भिडियो अझ जीवन्त बनेको छ ।

भिडियोको छायांकन अजय रेग्मीले गर्नुभएको हो भने सम्पादन विनोद बमले गरेका छन् । प्रस्तुत भिडियोमा प्रयोग गरिएको दृश्य संयोजन, अभिनय र कथावस्तुले दर्शकलाई भावुक बनाउने क्षमता राख्ने प्रतिक्रिया कार्यक्रमका प्रमुख अतिथि डिसीले दिए।

त्यसैगरी चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसीले कलाकारहरुको अभिनय जिवन्त रहेको बताए । गीतका बारेमा गीतकार शंकर पाण्डे मुक्ति, सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधब राज खरेल, प्रा. ध्रुव पौडेल लगायतलले आ-आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, अभिनेता श्रीदेव भट्टराई,  पत्रकार गीता अधिकारी, स्वस्तिका पन्थी,  विश्व देवकोटा, अजय अधिकारी सुशील, रिमेश अधिकारी तथा ओएसआर डिजिटलकाका ओम अग्रवाल लगायतको उपस्तिथि रहेको थियो ।

सामाजिक उत्तरदायित्व, पारिवारिक भावनात्मकता र सांगीतिक मिठासको संयोजनमा बनेको ‘मेरो आफ्नै सन्सार’ ले नेपाली संगीतप्रेमीमाझ विशेष स्थान बनाउने अपेक्षा निर्माण पक्षले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here