काठमाडौँ, ८ असार । कृषि विभागले यही असार १५ गते २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गर्ने भएको छ ।
विभागको समन्वयमा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको हो । महोत्सवका अवसरमा धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिने र विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
विभागले यस वर्षका लागि ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ नारा तय गरेको छ ।
उत्पादनमा वैज्ञानिक विधिको प्रयोग, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताउँदै महानिर्देशक सञ्जेलले विभागले कृषकको जीवनस्तर उकास्न नीति निर्माणदेखि व्यावहारिक कार्यान्वयनसम्म सबै तहमा संवेदनशील हुनुपर्नेमा जोड दिए । दिवसमा राष्ट्रिय तथा स्थानीय तहका नीति निर्माता, कृषि समुदाय, कृषक समूह÷सहकारी, कृषि बालीसम्बन्धी संस्थालगायतको सहभागिता रहनेछ ।






















