१९ असार, काठमाडौं । अध्यागमन विभागले डिजिटल अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको छ।
प्रचलित अध्यागमन कानुन बमोजिम भौतिक रूपमै उपस्थित भई भिसाको म्याद थप तथा भिसा रूपान्तरण जस्ता सेवाका लागि आवेदन गर्ने सेवाग्राहीको कुनै दिन अत्यधिक भिडभाड हुने र कुनै दिन सेवाग्राहीको उपस्थिति अत्यन्तै न्यून हुने गरेकाले सेवा प्रवाहमा सन्तुलन कायम गरी भिसा सम्बन्धी सेवा प्रवाह सरल र सहज बनाउने उद्देश्यले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो।
विभागले यसअघि नै पदयात्रा अनुमति र इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन जस्ता सेवाहरूलाई पूर्ण रूपमा अनलाइन बनाएको हुँदा सेवाग्राहीको भौतिक उपस्थिति शून्य भएको छ।
उक्त प्रणाली गत असार १२ गतेदेखि नै परीक्षणको रूपमा कार्यान्वयनमा रहेको छ। हाल नेपालीपोर्ट मार्फत् भिसा आवेदन सँगै उपलब्ध गराइएको, कुनै पनि स्लटमा कोटा निर्धारण गरी नसकिएको र अपोइन्टमेन्ट स्लिप नभएका सेवाग्राहीलाई समेत सेवा प्रदान हुँदै आइरहेको छ।
आगामी आवको सुरूवातसँगै १ साउनबाट प्रत्येक घण्टाको लागि आवेदनको कोटा निर्धारण गरी सोही बमोजिम मात्र सेवा प्रवाह गर्ने गरी यस प्रणालीलाई अनिवार्य गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।
कोटा प्रणालीले दैनिक रूपमा आउने सेवाग्राहीको संख्यालाई कार्यतालिका अनुसार समान रूपमा विभाजन गर्ने हुँदा कार्यालय समयमा सेवाग्राहीको चाप सन्तुलित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।
नेपालमा रहेका सम्पूर्ण विदेशी राहदानी वाहक तथा अन्य सरोकारवालाहरूले आफ्नो अनुकूलता अनुसार उपलब्ध स्लट अनुसारको समय निश्चित गरी सोही समयमा मात्र विभागमा उपस्थित भई विभागको काम कारबाहीलाई मर्यादित र व्यवस्थित बनाउने कार्यमा सहयोग गर्न विभागले अनुरोध गरेको छ ।
