पासपोर्ट विभागमा हालसम्मकै ठूलो डेटा माइग्रेसन, अत्यावश्यक हुनेले मात्र आवेदन दिन आग्रह

काठमाडौं, २९ असार । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरेको छ । योसँगै उसले नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको सोमबार जानकारी दिएको छ ।

करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको उसले बताएको छ ।

यस्तो बृहत् सूचना प्रविधि प्रणालीको कार्यान्वयन भएपछि सुरूवातका दिनहरूमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता, राहदानी वितरणमा सामान्य ढिलाइ देखिने संभावना रहेको छ । यस्ता सम्भावित अवस्थाको पूर्वतयारी स्वरूप विभागका प्राविधिक टोली एवं कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञ चौबीसै घण्टा तयार राखी प्रणालीको निरन्तर अनुगमन, परीक्षण तथा सुधार गर्ने विभागको भनाइ छ ।

साथै, नयाँ प्रणालीको सुरूवाती चरणमा, राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिन पनि उसले आग्रह गरेको छ । नयाँ प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन यसले मद्दत पुग्ने छ ।