नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासबीच नेपाल–इजरायलबीचको आर्थिक, व्यापारिक, लगानी तथा श्रम सहकार्य विस्तारका विषयमा छलफल भएको छ ।
मंगलवार महासंघ सचिवालयमा भएको भेटवार्तामा दुवै पक्षले नेपाल–इजरायल आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन निजी क्षेत्रको सक्रिय सहभागिता, लगानी प्रवद्र्धन, नवप्रवर्तन, प्रविधि हस्तान्तरण तथा व्यापारिक सहकार्यलाई प्राथमिकता दिने विषयमा जोड दिएका छन् ।
साथै सन् १९९३ मा नेपाल उद्योग वाणिज्य महासंघ र फेडरेशन अफ इजरायली चेम्बर अफ कमर्शबीच भएको सम्झौता नविकरण गर्र्दै आर्थिक सहकार्य विस्तार गर्नु पर्नेमा दुवै पक्ष सहमत भएका छन् ।
अध्यक्ष श्रेष्ठले इजरायलले हासिल गरेको आर्थिक विकास नेपालका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै विशेषगरी कृषि आधुनिकीकरण, नवीकरणीय ऊर्जा, डिजिटल नवप्रवर्तन, स्वास्थ्य लवगायतका क्षेत्रमा इजरायली अनुभव नेपालका लागि अत्यन्त उपयोगी हुने बताए।
उनले इजरायलले नेपाली श्रमिक, विशेषगरी केयरगिभरका लागि उपलब्ध गराएको सम्मानजनक रोजगारीको अवसरको पनि सराहना गर्दै सरकार–सरकार (जीटुजी) श्रम सम्झौताले पारदर्शी र सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरेको बताए । हाल संस्थागत रुपमा नेपाली श्रमिक इजरायल गएकोमा व्यक्तिगत रुपमा घरका लागि केयरगिभिङ तथा कृषि क्षेत्रमा श्रमिक लैजाने इजरायलको चाहनाले नेपाली युवाका लागि थप अवसर सिर्जना हुने बताए।
अध्यक्ष श्रेष्ठले नेपालमा राजनीतिक स्थायित्व कायम भएको, लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले नीतिगत सुधार तथा व्यवसायिक प्रक्रिया सरलीकरणमा काम गरिरहेको उल्लेख गर्दै विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गएको बताए।
।
नेपाल र इजरायलका निजी क्षेत्रबीच व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान, व्यवसाय–व्यवसाय (बीटुबी) बैठक, संयुक्त लगानी तथा संस्थागत साझेदारी विस्तार गर्न महासंघ तयार रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले नेपाली र इजरायली व्यवसायीबीच पुलको भूमिका निर्वाह गर्न महासंघ प्रतिबद्ध रहेको बताए ।
भेटमा नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले इजरायल नेपाली श्रमिकलाई थप रोजगारीका अवसर उपलब्ध गराउन इच्छुक रहेको जानकारी दिए। हाल इजरायलले संस्थागत रुपमा नेपाली श्रमिक लैजाने गरेकोमा अब व्यक्तिगत रुपमा घरको लागि केयरगिभिङ तथा कृषि क्षेत्रमा श्रमिक लैजान चाहेको बताए। साथै उनले इजरायल नेपाली महिलाका लागि सुरक्षित श्रम गन्तव्य भएको उल्लेख गर्दै भविष्यमा श्रम सहकार्यलाई अझ विस्तार गर्न सकिने धारणा राखे ।
उहाँले इजरायल नेपालमा लगानी गर्न इच्छुक रहेको तर इजरायली व्यवसायीहरु लगानीको सुरक्षा, दाहोरो कर छुट तथा मुनाफा सजिलै लैजान सक्ने कानूनी स्पष्टता खोजेको बताए ।
राजदूत बासले नेपालसँग सिमेन्ट, जडीबुटी तथा औषधिजन्य उत्पादन (हर्बल तथा मेडिसिन), चिया व्यापार प्रवद्र्धन, कृषि तथा अन्य उत्पादनको मूल्य अभिवृद्धि, प्रविधि हस्तान्तरण तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्न इजरायल तयार रहेको बताए । उनले दुई देशका उद्योगी–व्यवसायीबीच प्रत्यक्ष सहकार्य बढ्दै गएमा व्यापार, लगानी र प्रविधि आदानप्रदानका नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गरे ।
