काठमाडौं, १० साउन । नेपाली उपभोक्तालाई कारखानाबाट सिधै घरमा सामान उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श प्लेटफर्म चाइनाबजार सञ्चालनमा आउने भएको छ ।
साउन १३ गते बुधबारदेखि सञ्चालनमा आउने सो अनलाइन बजार तेस्रो पक्षका विक्रेता वा आयात एजेन्टमा निर्भर रहने छैन । यसको डोमेन नेम चाइनाबजार डट कम रहनेछ ।
नेपालमा आयातित वस्तुहरू लामो समयदेखि आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहु–तहका आपूर्ति शृंखलामार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् । यस प्रक्रियामा वस्तुको मूल्य बढ्नुका साथै आपूर्तिमा अनिश्चितता पनि रहने गरेको छ । चाइनाबजार यही अन्तरलाई हटाउने उद्देश्यका साथ स्थापना गरिएको चाइनाबजारकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठले बताइन् ।
कम्पनीले चीनका उत्पादकबाट आफैं वस्तु छनोट गरी प्रत्यक्ष खरिद गर्छ, आफ्नै ढुवानी सञ्जालमार्फत नेपाल भित्र्याउँछ, कम्पनीकै गोदाममा भण्डारण गर्छ र आफ्नै वितरण प्रणालीमार्फत ग्राहकसम्म पु¥याउँछ, उसले एक विज्ञप्तिमा भनेको छ ।
स्रोत व्यवस्थापनदेखि आयात, भण्डारण र वितरणसम्मको सम्पूर्ण प्रक्रिया एउटै व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएकाले डेलिभरी समय छोट्याउन, लागत नियन्त्रण गर्न तथा मूल्यलाई पारदर्शी र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीको दाबी छ । आपूर्ति प्रणालीमा उतारचढाव आउने बजारमा समेत यस मोडेलले स्थिर सेवा दिन सक्ने कम्पनीको विश्वास छ ।
‘एन्जोय योर सपिङ्’ नारासहित सञ्चालनमा आउन लागेको चाइनाबजारले प्रारम्भिक चरणमा विद्युतीय सामग्री, फेसन, जीवनशैली (लाइफस्टाइल) सम्बन्धी सामग्री तथा स्वास्थ्य एवं सौन्दर्य सामग्री उपलब्ध गराउनेछ । आगामी दिनमा उत्पादनको दायरा क्रमशः विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।
ग्राहकले इसेवा र खल्तीमार्फत डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै, कम्पनीको आफ्नै गोदाम तथा वितरण प्रणालीका कारण आवश्यक मौज्दात कायम राख्दै छिटो र भरपर्दो सेवा प्रदान गरिने बताइएको छ ।
‘नेपालको डिजिटल अर्थतन्त्र निरन्तर विस्तार भइरहेको छ र चीनसँगको व्यापारिक सम्बन्ध पनि थप सुदृढ बन्दै गएको छ ्। चाइनाबजारले यी दुवै प्रवृत्तिसँगै अघि बढ्ने लक्ष्य लिएको छ। आगामी दिनमा उत्पादनको विविधता बढाउँदै देशभर आफ्नो वितरण सञ्जाल विस्तार गर्ने योजना छ,” सीईओ श्रेष्ठले भनिन् ।

