यसकारण संसारकै उत्कृष्ट १ नम्बर लक्जरी होटेलमा पर्न सफल भयो सिन्तामणी मुस्ताङ

१२ साउन, काठमाडौं । नेपाललाई विश्व मानचित्रमा एक प्रमुख लक्जरी ट्राभल गन्तव्यका रूपमा स्थापित गर्दै मुस्ताङमा रहेको सिन्ता मणी मुस्ताङ विश्वकै सर्वोत्कृष्ट विलासी होटल घोषित भएको छ। अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त संस्था रब रिपोर्टले सार्वजनिक गरेको सन् २०२६ को सूचीमा सिन्ता मणी मुस्ताङलाई ५० ग्रेटेस्ट लक्जरी होटल्स अन अर्थ (विश्वका ५० महान लक्जरी होटलहरू) को पहिलो नम्बरमा सूचीकृत गरिएको हो। विश्वका शीर्ष २४ जना दिग्गज ट्राभल विज्ञहरूको छनोटका आधारमा यो नतिजा सार्वजनिक गरिएको हो।

सन् १९७० र ८० को दशकमा नेपाल एसियाकै एक विशेष र विशिष्ट गन्तव्यका रूपमा चिनिन्थ्यो। तर, समयक्रमसँगै नेपालको पहिचान मुख्यगरी बजेट ट्राभल र ट्रेकिङमा मात्र सीमित हुन पुग्यो। उक्त पहिचानलाई बदल्दै नेपाललाई पुनः विश्वस्तरीय लक्जरी गन्तव्यका रूपमा उभ्याउन शेर्पा हस्पिटालिटी ग्रुपले लामो समयदेखि काम गरिरहेको छ। अगस्ट २०२३ मा तल्लो मुस्ताङमा सञ्चालनमा आएको सिन्ता मणी मुस्ताङले सोही सोचलाई मूर्तरूप दिएको हो।

रब रिपोर्टले सिन्ता मणी मुस्ताङको प्रशंसा गर्दै लेखेको छ, ‘प्रख्यात म्याक्सिमलिस्ट डिजाइनर बिल बेन्स्लेद्वारा तयार पारिएको यो एउटा काल्पनिक र भव्य महल जस्तै छ…. जहाँबाट देखिने मनमोहक दृश्यहरूले शरीर, दिमाग र आत्मालाई पूर्ण विश्राम र पुनर्जीवन प्रदान गर्छन्।’

यो ऐतिहासिक उपलब्धिबारे खुसी व्यक्त गर्दै शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नामग्याल शेर्पाले भने, ‘यो सम्मान केवल एउटा होटलको मात्र होइन। हाम्रो मौलिक पहिचान, संस्कृति, र प्राकृतिक सुन्दरतालाई विश्वसामु प्रस्तुत गर्दै नेपाललाई शीर्ष लक्जरी गन्तव्य बनाउने हाम्रो वर्षौँदेखिको सपना थियो। रब रिपोर्टको यो मान्यताले नेपालको मौलिकता र संस्कृतिलाई जोगाएरै पनि हामी विश्वका सर्वोत्कृष्ट गन्तव्यहरूसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने प्रमाणित गरेको छ।’

उनका अनुसार सन् २०२४ मा बेस्ट अफ द बेस्ट, २०२५ मा बेस्ट लक्जरी एडभेन्चर होटल हुँदै सन् २०२६ मा विश्वकै पहिलो नम्बरको लक्जरी होटलका रूपमा सम्मानित हुनु सिन्ता मणी मुस्ताङ, स्थानीय मुस्ताङवासी र सिङ्गो नेपालकै लागि गौरवको विषय हो।

सिन्तामणीमा के छ खास ?
अद्वितीय डिजाइन र वातावरण, प्रख्यात आर्किटेक्ट बिल बेन्स्लेद्वारा डिजाइन गरिएको यो होटलले हिमाली संस्कृति, दीगो पर्यटन र आधुनिक विलासिताको उत्कृष्ट सन्तुलन मिलाएको छ। ब्याक टु नेचर अनुभवः घटीमा ५ रातको प्याकेजमा रहने पाहुनाहरूलाई स्थानीय वातावरण, संस्कृति र हिमाली जीवनशैलीसँग जोड्न अनुभवी ुबेन्स्ले एडभेन्चर बट्लरुहरूको सेवा उपलब्ध गराइन्छ।

शेर्पा हस्पिटालिटी ग्रुपको योगदान, ग्रुपले मुस्ताङबाहेक अन्नपूर्ण, सगरमाथा, मनाङ, चितवन (कसरा) र लुम्बिनी (होक्के)मा पनि उच्चस्तरीय र दिगो पर्यटन प्रवर्द्धन गर्ने लज तथा रिसोर्टहरू सञ्चालन गर्दै आएको छ। यो उपलब्धिले विश्व पर्यटन बजारमा नेपाललाई केवल ट्रेकिङका लागि मात्र नभई हाईइन्ड लक्जरी अनुभवका लागि पनि एक उत्कृष्ट गन्तव्यका रूपमा स्थापित गरेको छ।