मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनका मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाएको छ। मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकोले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

मंगलबार दिउँसो साे सडकखण्डमा दुई पटक पहिरो गएकाे थियाे।