पाकिस्तान हिमपहिरो : विश्वचर्चित पर्वतारोही निर्मल पूर्जासहित सबै नेपाली आरोहीको निधन

१६ साउन, काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को निधन भएको छ । पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए । पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी सञ्जालमार्फत गराएको छ ।

बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए । ४ जनाको शव भने शुक्रबार नै फेला परेको जनाइएको थियो । पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीबार मध्याह्न हिमपहिरो गएको थियो ।

उक्त हिमपहिरोमा ६ जना नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए । पुर्जा टोलीका नेता थिए । पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिनाभन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए ।

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्त चुनौतीपूर्ण हिमालमध्ये एक मानिन्छ । पूर्जा बेलायती सेनामा कार्यरत गोर्खा सैनिक थिए । उनी सैनिक पेशा छाडेर पर्वतारोहणमा होमिएसँगै विश्वमा कठिन भन्दा कठिन मानिएका कीर्तिमान बनाउँदै गएका थिए । उनले ८ हजार मिटर अग्ला चुचुरो ५७ पटक चुमिसकेका थिए ।