१९ साउन, काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
मन्त्रालयका अनुसार छलफलमा सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूले भोग्दै आएका चुनौती तथा सूचना प्रवाहलाई अझ सहज र विश्वसनीय बनाउने विषयमा विचार आदानप्रदान गरिनेछ। अन्तरक्रियामा विभिन्न मिडियामा राजनीतिक बिट हेर्ने पत्रकारहरुलाई आमन्त्रण गरिएको छ ।
मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला, सञ्चारमाध्यम, शिक्षा तथा राजनीतिक बिटका पत्रकार, शैक्षिक संस्था र निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएका छन् । मन्त्रालयले यस्ता संवादले सरकार र सञ्चारमाध्यमबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।
