काठमाडौं, २० साउन । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी (पर्वत) र सचिवमा प्रा. डा. रोजी श्रेष्ठ (भोजपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा जन्मिएका डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञ मानिन्छन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् । तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका उनी शिक्षाध्यक्षमा नियुक्त हुनुअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुख थिए ।
उनका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा कृतिहरू प्रकाशित छन् ।
त्यसैगरी, विश्वविद्यालय अनुदान आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन् ।
आयोगको सचिवमा नियुक्त हुनुअघि उनी बी एण्ड बी अस्पतालको नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी हुन् । साथै, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा अध्ययन गरेकी छिन् ।
उनले नर्सिङ क्याम्पस, महाराजगञ्जबाट नर्सिङमा स्नातक तथा पीसीएल नर्सिङ अध्ययन पनि पूरा गरेकी हुन् । प्रा. डा. श्रेष्ठले बी एण्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक र प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी छिन् ।
नर्सिङ अनुसन्धानमा विद्यावारिधि उपाधि हासिल गरेबापत उनी राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदक बाट सम्मानित भएकी थिइन् । नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उनले दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन् ।
