२४ साउन, काठमाडौं । सरकारले घरमा १५ दिनका लागि पुग्ने ग्यास भए लाइनमा नबस्न उपभोक्तालाई आह्वान गरेको छ ।
ग्यासमा देखिएको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न उद्योगमन्त्रीको सचिवालयको टोली र नेपाल आयल निगम निरन्तर सक्रिय भएर काम गरिरहेको मन्त्री गौरी कुमारी यादवको सचिवालयले जनाएको छ ।
सो क्रममा भक्तपुरबाट एक जनालाई कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको छ।
उपभोक्ताका गुनासा निरन्तर सुनिरहेको र ग्यास अभावको बहाना बनाएर कालोबजारी, कृत्रिम अभाव तथा अनियमितता गर्ने जो–कोहीलाई कानुनको दायराबाट उम्कन नदिइने सूचनामा उल्लेख छ । सरकार उपभोक्ताको हित, सहज आपूर्ति र अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको समेत उल्लेख छ ।
ग्यास पर्याप्त मात्रामा आइरहेको अवस्थामा समेत देखिएको कृत्रिम अभावलाई यथाशीघ्र सहज बनाउन सरकार, व्यवसायी र आम उपभोक्ता सबैको हातेमालो आवश्यक रहेको उल्लेख छ ।
आफ्नो घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास मौज्दात छ भने अनावश्यक रूपमा लाइनमा नबस्न भनिएको छ । अहिलेको अवस्थामा प्रत्येक परिवारले एकपटकमा एक सिलिन्डर मात्र ग्यास खरिद गर्न समेत भनिएको छ ।
