२४ साउन, काठमाडौं | गत राति करिब १० बजे शिवपुर सबस्टेशनको स्विचयार्डमा मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनको सर्किट–२ मा PT र Isolator बीचको Jumper Conductor चुडिएर Open Conductor Fault उत्पन्न हुँदा एकीकृत नेपाल विद्युत् प्रणाली (INPS) मा आंशिक अवरोध भएको थियो।
सर्किट–२ बन्द भएपछि सर्किट–१ मा Overload पर्नुका साथै पश्चिमी क्षेत्रमा करिब १८० मेगावाट लोड गुम्न गएको थियो। त्यसपछि Overload/Overcurrent का कारण पथलैया–चपुर र पथलैया–ढल्केबर १३२ केभी प्रसारण सर्किटहरू ट्रिप भएका थिए। यसबाट पश्चिम तथा मध्य क्षेत्रका उत्पादन केन्द्रहरूमा Over Frequency भई उत्पादन युनिटहरू समेत क्रमशः ट्रिप हुँदा प्रणालीमा थप अवरोध उत्पन्न भएको हो।
घटना लगत्तै चुडिएको Jumper Conductor को मर्मत तथा प्रणाली पुनःस्थापनाका लागि प्राविधिक टोली तत्काल परिचालन गरिएको थियो र राति नै मर्मत कार्य सम्पन्न गरिएको थियो।
त्यसपछि पथलैया–चपुर १३२ केभी सर्किटमार्फत मध्य तथा प्रमुख लोड क्षेत्रको विद्युत् आपूर्ति पुनःस्थापना गरिएको थियो। बुटवल र कोहलपुर क्षेत्रहरू सम्बन्धित Island Grid मार्फत पुनःस्थापित गरिएका थिए।
तत्पश्चात् हेटौंडा–कुलेखानी–स्युचाटार ६६ केभी तथा हेटौंडा–मातातीर्थ १३२ केभी करिडोर मार्फत प्रणाली क्रमशः पूर्ण रूपमा पुनःस्थापना गरिएको थियो।
यस घटनाका कारण ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत् प्राधिकरण क्षमाप्रार्थी छ। आकस्मिक प्राविधिक समस्याका कारण केही समय विद्युत् आपूर्ति प्रभावित हुन पुगेकोमा प्राधिकरणले ग्राहकमा परेको असुविधाप्रति दुःख व्यक्त गरेको छ।
