काठमाडौंको शंखमुलमा होस्टेलमा युवकको हत्या, एक पक्राउ

काठमाडौँ, ५ भदौः काठमाडौँ महानगरपालिका–१० शङ्खमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङको घोराही उपमहानगरपालिका १७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो ।

प्रहरीका अनुसार किशोर र २० वर्षीय प्रमित पटेलले आज बिहान कुटपिट गरी तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका कालाथोकीको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कालाथोकीको कुटपिटका कारण मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट प्रहरी खटिएको थियो ।

पाँच जनालाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनापछि फरार रहेका पटेलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।