माटोमुनिबाट बालिका रोएको आवाज आएपछि प्रहरीबाट उद्धार

१२ भदौ, रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बलको उद्धार टोलीले माटोमुनि पुरिएकी करिब ६ वर्षीया बालिकालाई सकुशल उद्धार गरेको छ।

शुक्रबार साँझ करिब ६ः१५ बजे टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको थियो। त्यसक्रममा माटोमुनि पुरिएको अवस्थामा बालिकालाई फेला पारेर उद्धार गरिएको हो।

सीमा सुरक्षा चौकी टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको ६ जनाको टोलीले बालिकालाई उद्धार गरी चौकीमा ल्याएको हो। उद्धारका क्रममा बालिका गम्भीर अवस्थामा रहेकी र अचेत अवस्थामा फेला परेको जनाइएको छ।

चौकीमा ल्याएपछि बालिकालाई न्यानो बनाएर राखिएको छ। उनको अवस्था कमजोर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गर्ने पहल भइरहेको छ। तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर उडान सम्भव हुन नसकेको बताइएको छ।