१३ भदौ, काठमाडौं । रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न विपपछि सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारमा कठिनाई देखिएको छ ।
ऊर्जा मन्त्रालयले यसमा निरन्तर प्रयास गरिरहेको बताएको छ । मन्त्रालयका अनुसार भोटेकोशी नदीमा आएको बाढीबाट भएको क्षतिको अवस्था बारे जानकारी लिन तथा उद्धार कार्यलाइ तिव्रता दिन मन्त्रालयका सचिव सहितको विज्ञ टोली नुवाकोट र रसुवाको स्थलगत निरिक्षण भ्रमणमा पुगेको छ ।
सो क्रममा सुरक्षा निकाय तथा अन्य सम्वन्धित निकायलाइ उद्धार कार्य तीव्र बनाउन, प्रभावित नागरिकको जनजीवन सहज बनाउन र सुरुङभित्र फसेका व्यक्तिहरूको शीघ्र उद्धार गर्न निर्देशन दिइएको थियो ।
सुरुङभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि प्रतिकूल मौसम तथा अत्यन्त चुनौतीपूर्ण परिस्थितिका बाबजुद रसुवास्थित त्रिशूली ३ ए र त्रिशूली ३ बी जलविद्युत् आयोजनामा फसेका व्यक्तिलाइ उद्धार गर्न आयोजनास्थलको रेकी, रेखाङ्कन तथा उद्धार कार्य निरन्तर अघि बढाइएको छ ।
सुरक्षा निकायबीच निरन्तर समन्वय गरी उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न सुरुदेखि नै घटनास्थलमा खटिँदै आएका टोली बाहेक थप उद्दार टोलि हेलिकप्टरमार्फत घटनास्थलतर्फ परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा त्रिशूली ३ ए को सुरुङ्ग भित्र फसेका व्यक्तिलाइ उद्धार गर्न उच्च प्राविधिक दक्षता भएका भारतीय विज्ञ टोलि हेलिकप्टरबाट आयोजनामा गएको तर प्रतिकुल मौसमका कारण अवतरण हुन नसकेको अवस्था छ ।
६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरिएको छ । चिनियाँ टोली हेलिकप्टर मार्फत त्रिशूल ३ बी जलविद्युत आयोजना स्थल पुगेको छ ।
उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय गर्दै सुरुङभित्रको अवस्थाको प्राविधिक रेकी तथा प्रारम्भिक मूल्यांकन गरिरहेको बताइएको छ । उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा स्ट्यान्डबाई अवस्थामा रहेका थप चिनियाँ प्राविधिक विज्ञलाई समेत तत्काल परिचालन गर्ने तयारी गरिएको छ ।
