काठमाडौं, १४ भदौ । गैरआवासीय नेपाली संघ -एनआरएनए) चाइनाको सहयोगमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका र कालिका गाउँपालिकामा अस्थायी रूपमा आश्रय लिएर बसेका करिब ४ सय जना बालबालिकाका लागि आइतबार ३ हजार थान कपडा तथा ५० थान सोलार लाइट वितरण गरिएको छ ।
एनआरएनए चाइनाका उपाध्यक्ष प्रदीप नेपालको नेतृत्वमा रसुवा पुगेको टोलीले प्रभावित बालबालिकालाई उक्त राहत सामग्री वितरण गरेको हो । बाढीका कारण प्रभावित बालबालिकाको तत्काल आवश्यकता पूरा गर्ने उद्देश्यले कपडा तथा सोलार लाइट वितरण गरिएको संघले जानकारी दिएको छ । यस अघि नुवाकोटमा एनआरएनएले हिजो र अस्ति गरी रु. ५० लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।
रसुवाको थुमन, उत्तरगया गाउँपालिका तथा गोसाइँकुण्ड गाउँपालिका र नुवाकोटको आँखुटार, त्रिशूली बजार, शोलेलगायतका बाढी प्रभावित क्षेत्रका स्थानीयवासी तथा सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गरी त्यहाँको वर्तमान अवस्था, प्रभावित नागरिकले भोगिरहेका समस्या तथा तत्काल आवश्यकताबारे संघले जानकारी लिएको छ ।
त्यसको आधारमा प्रभावितहरूको तत्काल तथा दीर्घकालीन आवश्यकता सम्बोधन गर्न आगामी राहत, पुनःस्थापना तथा सहयोगको रणनीति तयार गरिएको उसको भनाइ छ । यस्तै बाढीबाट विस्थापित भई काठमाडौं आएका व्यक्तिहरूसँग भेटघाट गरी उनीहरूको वर्तमान अवस्था, समस्या तथा आवश्यकताबारे जानकारी समेत लिइएको छ ।
एनआरएनए राहत अभियानअन्तर्गत हालसम्म रु. ४ करोड ८२ लाख ७४ हजार रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ । संकलित रकम राहत तथा मानवीय सहायता पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । संघले विभिन्न एनसीसीमार्फत संकलित सहयोग रकमको पारदर्शी विवरण तयार गरी सार्वजनिक गर्ने पनि बताएको छ ।
राहतसँगै प्रभावित नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एनआरएनएले स्वास्थ्य सेवा तथा चिकित्सकीय सहयोगलाई समेत निरन्तरता दिएको छ । डा. सञ्जीव सापकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली सोमबार नुवाकोट जादैछ ।
सो टोलीले प्रभावित नागरिकको स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय सेवा प्रदान गर्ने छ । थप उपचार आवश्यक पर्ने बिरामीलाई सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था समेत मिलाइएको छ ।
