नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने

काठमाडौँ, १ असोजः नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशविरुद्ध पहिलोपटक टी–२० अन्तरराष्ट्रिय शृङ्खला खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ अनुसार नेपाल र बङ्लादेशबीचको द्विपक्षीय शृङ्खला आउँदो चैत महिनाको १२, १४ र १६ गते आयोजना हुने भएको हो । क्यानका सचिव पारस खड्काले भोटेकोशी बाढीमा मृत्यु भएकाको सम्झनामा नेपालले बङ्लादेशविरुद्ध सिरिज खेल्ने निश्चित भएको विज्ञप्तिमा उल्लेख गरे ।

“आगामी मार्चमा हुने नेपाल र बङ्गलादेशबीचको क्रिकेट शृङ्खला नेपालमा हालै आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा समर्पित गरिने जानकारी गराउन पाउँदा खुसी छौँ”, पारसले बुधबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा पनि लेखेका छन्, “क्रिकेटभन्दा टाढा यो शृङ्खलाले नेपाल र बङ्लादेशबीच ऐक्यबद्धता, करुणा र मित्रताको सन्देश प्रवाह गर्नेछ । दुई छिमेकी राष्ट्र नेपाल र बङ्लादेशबीच जनस्तरमा बलियो सम्बन्ध रहनुका साथै क्रिकेटप्रति पनि समान प्रेम छ ।”

सचिव खड्काले शृङ्खला खेल्न तयार भएकामा बङ्लादेश क्रिकेट बोर्डप्रति आभारसमेत व्यक्त गरेका छन् । नेपाल र बङ्लादेशबीचको शृङ्खला कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्टेडियममा हुने क्यानले जनाएको छ ।