४ असोज, काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्ता, एक कूटनीतिक, एक सामाजिक, एक आर्थिक(व्यावसायिक र एक प्राज्ञिक मञ्चमा प्रमुख अतिथिका रूपमा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किएका हुन् ।
भ्रमणका क्रममा रसुवामा गएको भोटेकोशी बाढीपछिको उद्धार र राहतमा भारत सरकारले पुर्याएको सहयोगप्रति सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको अर्थमन्त्री डा. वाग्लेले बताए ।
बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यको प्रस्ताव गरिएको र दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सहकार्यलाई नयाँ ढङ्गबाट अघि बढाउने विषयमा पनि भेटघाट फलदायी भएको उनको भनाइ छ।
बिहीबार उनले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारत आर्थिक सहकार्यका आयामहरूप्रति मन्थन भएको थियो।
शुक्रबार उनी पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुभएको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भए ।
त्यसै दिन उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरे । सोही दिन साँझ भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको बृहत् भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री सहभागी भए ।
सोही दिन दिउँसो उनले प्रवासी नेपालीहरूको एक प्रतिनिधिमण्डलसँग भेट गरे । शनिबार बिहान संविधान दिवसका अवसरमा नेपाली राजदूतावासमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भए ।
सोही दिन अर्थमन्त्री डा. वाग्लेले भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाए । शनिबार नै उनी दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिबारेको प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी भए ।
