विपदको पूर्वसूचना चुस्त बनाइयो, अब २ दिनअगावै आकस्मिक बाढीको सूचना पाइने

८ असोज, काठमाडौँ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अब दुई दिन अगावै आकस्मिक बाढीको पूर्वानुमान गर्ने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन निर्देशन दिएको भोलिपल्ट जल तथा ऊर्जा आयोगको सचिवालयमातहत रहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी तथा आकस्मिक बाढी पूर्वानुमानको समयावधि विस्तार गरेको हो ।

जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता डा। राजन भट्टराईकाअनुसार जल विज्ञान तथा बाढी पूर्वानुमान र पूर्व सुचना सम्बन्धी सेवामा थप सुधार गर्दै बुधबारदेखि तोकिएको प्रमुख नदीहरुको बाढीको पूर्वानुमानको समयावधि ३ दिनबाट ५ दिन तथा नेपालभरका स(साना नदीहरुमा आकस्मिक बाढीको जोखिम पूर्वानुमान १ दिन (२४ घण्टा)बाट २ दिन (४८ घण्टा)सम्म विस्तार गरेको छ ।

यो सुधार केन्द्रको आफ्नै नेपाल(केन्द्रित बाढी पूर्वानुमान मोडेल तथा ईसीएमडब्लुएफको समष्टिगत पूर्वानुमानमा आधारित पूर्वानुमान प्रणालीलाई अन्य उपलब्ध विश्वव्यापी तथा क्षेत्रीय जलविज्ञानसम्बन्धी पूर्वानुमानका विभिन्न मोडेलहरूसँग एकीकृत गरी सञ्चालनमा ल्याइएको प्रवक्ता भट्टराईले बताए ।