ईन्टरनेट सर्भिस प्राेभाइडर (आइएसपी) क्षेत्रमा धेरै वर्ष काम गरेको अनुभवले मैले एउटा कुरा नजिकबाट देखेको छु।आज हामी कुनै पनि बजार वा बस्तीमा पुग्दा बिजुलीका पोलहरू हेर्नुस् तारै तारको जंगल देखिन्छ। तर पोलमा झुन्डिएका ती सबै तारहरु चलिरहेका हुँदैनन्।
ग्राहक जोडिन्छन्,सेवा बन्द गर्छन्,घर या डेरा सर्छन् वा कम्पनी परिवर्तन गर्छन्। तर ग्राहक छुट्दा वा ठाउँ सर्दा पुरानो तार झिकेर व्यवस्थापन गर्ने चलन अहिलेसम्म छैन।
जति नयाँ ग्राहक थपिन्छन्,उति नै नयाँ तार तानिन्छ। तर हरेक पुरानो ग्राहक छुट्दा सुरुमा जोडेको तारहरु भने त्यहीँ रहन्छन्। अर्को कम्पनी आउँदा फेरि अर्को नयाँ तार थपिन्छ।
यसरी वर्षौं बित्दै जाँदा पोलमा काम लाग्ने तारभन्दा काम नलाग्ने तारको संख्या धेरै भइसकेको छ।
अब एउटा सानो २०० वटा घर भएका बस्ती या बजारलाई नै उदाहरण मानौ । २०० घरमा इन्टरनेट सेवा पुर्याउन कति वटा कम्पनीले छुट्टाछुट्टै फाइबर तानेका होलान्? कति पोल प्रयोग भएका होलान्? कति बक्स,उपकरण र जनशक्तिमा दोहोरो लगानी भएको होला?
ग्राहक उही,पोल उही,बाटो उही तर पूर्वाधार कम्पनीपिच्छे दोहोरिरहेको छ।
अन्ततःत्यसको लागत आउने ठाउँ भनेको उपभोक्ताको बिलबाट नै हो।
त्यसैले अब हामीले छुट्टै मोडलको (एउटै छाता) बारेमा सोच्दा ठिक होला जस्तो लाग्छ।
कुनै क्षेत्रको मुख्य फाइबर नेटवर्क र आवश्यक पूर्वाधारलाई व्यवस्थित रूपमा एउटै साझा संरचनामा राख्ने,अनि त्यसैमा सीमित संख्यामा सेवा प्रदायकलाई समानरुपमा पहुँच दिने।
कम्पनीहरूबीच प्रतिस्पर्धा रहोस्,तर एउटै पोलमा एउटै ठाउँका लागि अनावश्यक रूपमा पटक–पटक तार तान्ने प्रतिस्पर्धा बन्द होस्।
यसरी काम गर्न सकियो भने यस्ता फाइदाहरु हुन् सक्छन् जस्ताे:
–पूर्वाधारमा हुने दोहोरो लगानी घट्न सक्छ।
-बिजुलीका पोलमा तारको अनावश्यक भार कम हुन सक्छ।
-पुराना र प्रयोगविहीन तार व्यवस्थित गर्न सकिन्छ।
-मर्मत तथा सञ्चालन खर्च घट्न सक्छ।
-शहर र बजारको दृश्य सफा र व्यवस्थित बन्न सक्छ।
र सबैभन्दा महत्वपूर्ण कुरा यसको फाइदा उपभोक्ताले सुपथ मूल्य र राम्रो सेवाका रूपमा पाउन सक्छन्।
अन्ततः उपभोक्तालाई चाहिएको कम्पनीको या तार होइन भरपर्दो, गुणस्तरीय र सुपथ इन्टरनेट हो। अब सेवा प्रदायकले विभिन्न बहानामा शुल्क बढाउने बारेमा सोच्नुभन्दा पनि ब्याबहारिक रुपमा यति धेरै दोहोरो पूर्वाधार र अनावश्यक खर्च भइरहेको अवस्थामा हामीले सुपथ मुल्यमा गुणस्तरीय सेवा उपभोक्तालाई कसरी दिन सकिन्छ भनेर सोच्नु पर्छ। सायद अब नेपालले “धेरै कम्पनी,धेरै तार,धेरै डिभाइस” हरु होइन साझा पूर्वाधार,व्यवस्थित नेटवर्क र स्वस्थ प्रतिस्पर्धा को बाटो सोच्नुपर्छ जस्तो लाग्छ।
यो समय इन्टरनेट कसैको ब्यापार वा सेवा मात्र नभई दुनियाको जिबनको आधारभुत हिस्सा बनिसको छ।
