विदेशी लगानी ६४ प्रतिशतले घट्यो, सात महिनामा ५ अर्ब १४ करोड रुपैयाँ मात्र

फाइलफोटो

काठमाडौं ६, चैत । गत माघसम्म ५ अर्ब १४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब ६४ प्रतिशतले कम हो । ०७४ को माघसम्म १४ अर्ब ३४ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो ।

सरकारले यही चैतमा १५ र १६ गते दोस्रो लगानी सम्मेलन गर्दैछ । सम्मेलनमा ५० भन्दा बढी देशका लगानीकर्ता जुटाउने सरकारको तयारी छ । यही समयमा उच्च दरले विदेशी लगानी घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

स्थिर सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य भएको र विदेशी लगानी प्रोत्साहन हुने खालका नीति बनेकाले ठूलो मात्रमा विदेशी लगानी भित्रने अनुमान गरिएको थियो । तर, चालु वर्षको सुरु देखि नै विदेशी लगानी उच्च दरले घटिरहेको छ । सरकारले भने मुलुकमा लगानीमैत्री वातावरण बनिरहेकाले अब ठूलो मात्रामा धेरै विदेशी लगानी भित्रिने दाबी गर्दै आएको छ ।

१७ अर्ब विदेशी लगानी

राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष १७ अर्ब ५१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो २९.६८ प्रतिशतले बढी हो ।

पछिल्ला वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत पर्यटन र सिमेन्ट उद्योगमा आएको तथ्यांक छ । प्रसस्त सम्भावना हुँदाहुँदै पनि अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको जानकारहरु बताउँछन् ।

ती क्षेत्रमा लगानी बढाउनका लागि एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरल बनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here