नेपालमा १६ अर्ब लागतमा नमूना ‘डिज्नेल्याण्ड’ बन्दै, लगानी कसको ?

काठमाडौ, २ मंसिर । झापा जिल्लामा अत्याधुनिक फन पार्क बन्ने भएको छ । यो फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुने बताईएको छ ।

दमक नगरपालिकामा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाइन लागेको जानकारी पार्कका लगानीकर्ता मध्येका एक अजेयराज सुमार्गीले दिएका छन् । व्यवसायी सुमार्गीका अनुसार दमकको वडा नम्बर ८ बालुवाटारमा १ सय २२ बिगाहा क्षेत्रफलमा फन पार्क बन्नेछ ।

पार्क निर्माण गर्ने समूहमा व्यवसायी सुमार्गीका साथै दमकका स्थानीय प्रतिष्ठित नेताहरु छन् । दमकका अग्रज नेताहरु गगन पुरी, प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, प्रदेशका कानुन मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता गणेश बस्नेत लगायतको लगानीमा पार्क बन्न लागेको हो ।

नेताहरुले भने आफ्नो तथा आफन्तको नाममा रहेको जग्गा दिएर लगानी गर्न लागेका हुन् ।

‘यो पार्क अढाई वर्षमा बनिसक्नेछ’– व्यवसायी सुमार्गीले भने । उनका अनुसार पार्क निर्माणमा प्रदेश सरकारले पनि निश्चित प्रतिशत रकम लगानी गर्नेछ । सार्वजनिक निजी साझेदारी (पीपीपी)मा बन्न लागेको यो पहिलो फन पार्क हो । यो पार्क निर्माणले नेपालमा पीपीपी मोडलको सफल र उदाहरणीय काम हुने सुमार्गीले बताए ।

‘विश्व चर्चित् डिज्नेल्याण्डकै स्वरुपमा यो पार्क बन्नेछ । पार्क अवलोकनका लागि भारत तथा दक्षिण एसियाका अन्य देशहरुबाट लाखौं पर्यटक भित्राउने हाम्रो लक्ष्य छ’ सुमार्गीले बताए, ‘फन पार्क बनेपछि त्यसले झापा जिल्लाका साथै सम्पूर्ण एक नम्बर प्रदेशको अर्थतन्त्रलाई धेरै माथि उठाउने छ ।’

पार्कको मोडल हेर्न प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीका स्वकीय सचिव, नेता पुरी र निर्माण व्यवसायी बस्नेत र सुमार्गीले सिंगापुर, दुबई तथा मलेसियाको भ्रमण गरिसकेका छन । ‘हामी विश्व स्तरीय फन पार्क बनाउँदैछौं,’ सुमार्गीले बताए ।

स्थलगत अवलोकनमा पार्क निर्माण गर्न उपयुक्त देखिएपछि पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तिब्र गतिमा बनिरहेको सुमार्गीले बताए ।

पार्कको शिलान्यास नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट गराउने योजना रहेको छ ।

‘हामी चाँडै नै शिलान्यासको अवस्थामा पुग्दैछौं, आउँदो माघ महिनाभित्र शिलान्यास गर्नेछौं,’ सुमार्गीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here