जलविद्युतमा लगानीका लागि आह्वान,स्वदेशी, विदेशी लगानीकर्ता सहभागि

काठमाडौं,५ मंसिर । काठमाडौंमा उर्जा सम्मेलन सुरु भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) को आयोजनामा सुरु भएको सम्मेलन दुई दिन चल्नेछ ।

सम्मेलनमा ६ सयभन्दा बढी स्वदेशी, विदेशी लगानीकर्ता तथा सरकारी अधिकारी सहभागी भएका छन् । बिहीबार सम्मेलनको उद्घाटन गर्दै उर्जा मन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा लगानीका लागि आह्वान गरे ।

नेपालको जलविद्युतमा गरिने लगानीले क्षेत्रिय आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पुनले पछिल्ला वर्षमा नेपालको जलविद्युत उत्पादन बढिरहेको भन्दै आगामी ३ वर्षभित्र सबैको पहुँचमा विद्युत पुर्याउने सरकारको तयारी रहेको बताए । उनले १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार सरकारले सहजीकरण गरिरहेको पनि बताए ।

सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले विद्युतको बजार खोज्न यस सम्मेलनले सघाउ पुर्याउने बताए।

निजी क्षेत्रको सहभागिताबिना उर्जा क्षेत्र अगाडि बढ्न नसक्ने भन्दै उनले जलविद्युत उत्पादनमा राम्रा, नराम्रा अनुभव रहेको यस क्षेत्रमा धेरै अवसर रहेकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

क्षेत्रीय विद्युत् व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ताहरु अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिईएको छ।

सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका लगानी कर्ताहरुको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here