सागको ओलम्पिक टर्च र्‍याली सुरु, कुन प्रदेशमा कहिले ?

काठमाडौं,६ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि ओलम्पिक टर्चलाई देशका सातओटै प्रदेशमा परिक्रमा गराइने भएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सागको ओलम्पिक टर्च सातै प्रदेशमा लगिने जानाकारी गराएको हो ।

शुक्रबार बिहान स्वयम्भूनाथमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले टर्च प्रज्ज्वलन गरेसँगै ओलम्पिक टर्चको परिक्रमा सुरु हुने संघले जनाएको छ ।

ओलम्पिक टर्च परिक्रमाको पहिलो दिन काठमाडौंबाट विराटनगर, दोस्रो दिन जनकपुर, तेस्रो दिन हेटौंडा र चितवन, चौथो दिन लुम्बिनी र बुटवल, पाँचौं दिन सुर्खेत र नेपालगन्ज, छैटौं दिन धनगढी र सातौं दिन पोखरामा परिक्रमा गरी आठौं दिन काठमाडौं ल्याइनेछ ।

त्यसपछि नवौं दिन यही मंसिर १५ गते सागको उद्घाटन समारोहस्थल दशरथ रंगशालामा लगिने मञ्चले जनाएको छ । ओलम्पिक टर्च परिक्रमा कार्यक्रममा कीर्तिमानी खेलाडीहरुसँगै ओलम्पियनहरु गरी १३ जना सहभागी हुनेछन् ।

१३औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा हुँदैछ । उद्घाटन र समापन दशरथ रंगशालामा हुनेछ । भलिबलका खेलहरु भने मंसिर ११ गतेदेखि नै हुने खेलतालिका छ ।

र्‍यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र एथलेटिक्सका ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सका राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ तथा खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी करातेका दीपक श्रेष्ठ सहभागी हुने छन् । काठमाडौं, पोखरा र जनकपुरमा हुने सागको उद्घाटन मंसिर १५ गते दशरथ रंगशालामा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here