यसरी हुँदैछ १३ औं साग उद्घाटन, ३ सय १७ स्वर्णका लागि प्रतिस्पर्धा

काठमाडौं, १५ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) १३औं संस्करण आज काठमाडौंमा भव्य रूपमा उद्घाटन गरिँदै छ।

बीस वर्षपछि नेपालमा आयोजना हुन लागेको सागको दशरथ रंगशालामा भव्य तरिकाले उद्घाटन गर्न लागिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम छ।

सागअन्तर्गत भलिबल प्रतियोगिताका खेल यसअघि नै भए पनि औपचारिक उद्घाटन अपराह्न दशरथ रंगशालामा गर्न लागिएको हो ।

भब्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने समारोह ३ घण्टा १४ मिनेट सञ्चालन हुनेछ ।

दक्षिण एसियाली महाद्वीपका राष्ट्रहरूको दृष्टिमा रहने यो खेलकुद मेलालाई राष्ट्रको सम्पन्नता, वैभव र समृद्धि देखाउने अवसरका रूपमा पनि लिइन्छ।

त्यसैले उद्घाटन समारोह भव्य गर्ने तयारी भइरहेको छ। उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ।

एसियाली खेलकुद नेपालमा तेस्रो पटक आयोजना हुँदै छ। साग खेलकुदमा नेपालको सबभन्दा ठूलो उपलब्धि काठमाडौँमा सन् १९९९ मा सम्पन्न आठौँ साफ हो।

३ सय १७ स्वर्णका लागि प्रतिस्पर्धा

१३ औं सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, माल्दिभ्स र भुटानका करिब ३ हजार खेलाडीले २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन् । यस्तै सागका लागि करिब २ हजार अफिसियल समेत खटिनेछन् ।

सागको उद्घाटनमा मार्चपासमा नेपालको झण्डा ओलम्पियन भारोत्तोलक कमलबहादुर अधिकारीले बोक्नेछन् । उनले सन् २००६ मा भएको दशौं सागमा स्वर्ण पदक समेत जितेका थिए । यस्तै सागमा चार पटक स्वर्ण जितेका तेक्वान्दोका दीपक विष्टले ओलम्पिक दीप प्रज्ज्वलन गर्नेछन् ।

सागमा स्विमिङमा सर्वाधिक ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। यसैगरी एथ्लेटिक्समा ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। तेक्वान्दोमा २९, भारतोलन, कुस्ती र सुटिङमा २०–२० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। करातेमा १९ तथा बक्सिङमा १६ स्वर्ण पदकका लागि भिडन्त हुनेछ। यसैगरी जुडोमा १५ ,फेन्सिङमा १२ र आर्चरीमा १० स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै साइक्लिङमा ८, ब्याडमिन्टन, टेबल टेनिस र टेनिसमा ७–७, ट्रायथलनमा ५ वटा स्वर्ण, स्क्वास र गल्फमा ४, बास्केटबल, थ्री बाई थ्री बास्केटबल, क्रिकेट, फुटबल, ह्यान्डबल, कबड्डी, खो खो, भलिबल र बिच भलिबलमा २–२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here