सागमा विभिन्न खेल हुँदै,एथ्लेटिक्समा १० स्वर्णको छिनोफानो, कराते सकिँदै

काठमाडौं, १८ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार विभिन्न खेलका प्रतिस्पर्धा हुँदैछ । सबैभन्दा बढी एथ्लेटिक्समा १० स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । बिहान ९ बजेदेखि दशरथ रंगशालमा सुरु हुने एथ्लेटिक्सका विभिन्न स्पर्धामा १० विजेताको टुंगो लाग्ने भएको हो ।

पाँच हजार मिटर दौडतर्फ महिला र पुरुष, सय मिटर दौडतर्फ महिला र पुरुष, हाइजम्पमा महिला र पुरुष, चार सय मिटर दौड तर्फ महिला र पुरुष तथा एक सय १० मिटर हडल्समा महिला र पुरुष स्पर्धामा स्वर्णको टुंगो बुधबार लाग्ने भएको हो ।

यस्तै कराँते तर्फका सबै स्पर्धाहरु बुधबार सकिँदै छ । कराँते तर्फ अन्तिम दिन बुधबार चारवटा स्पर्धामा स्वर्णको टुंगो लाग्दैछ ।

कराँते तर्फ बुधबार टिम कुमुते स्पर्धामा महिला र पुरुष, ५० केजी तौल समूहको पुरुष स्पर्धा, ६८ केजी भन्दा माथिको तौल समूहमा महिला स्पर्धामा स्वर्णको टुंगो लाग्ने भएको हो । कराँतेका १९ स्पर्धा मध्ये १५ वटाको टुंगो लागिसकेको छ ।

तेक्वान्दो तर्फ बुधबार ६ वटा स्वर्ण पदकको टुंगो लाग्दैछ । तेक्वान्दोका २९ स्वर्णमध्ये १७ वटाको टुंगो लागिसकेको छ । बुधबार ६ स्वर्णको टुंगो लागेपछि बाँकी ६ स्वर्णको टुंगो बिहीबार लाग्ने छ ।

पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। खेल साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ। त्रिवी क्रिकेट मैदान किर्तिपुरमा हुने पुरुष टि ट्वेन्टी क्रिकेटमा आज विहान ९ बजे बंगलादेश र माल्दिभ्स तथा दिउँसो १ बजे श्रीलंका र भुटान भिड्नेछन्। पोखरामा भइरहेको महिला क्रिकेटमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ।

आज हुने अर्को खेलमा श्रीलंका र माल्दिभ्स भिड्नेछन्। करातेमा आज ४ स्वर्ण पदकको छिनोफानो हुनेछ। कुमुते पुरुष ५० केजी र महिला ६८ केजी तथा दुवैतर्फ टिम कुमुतेका खेलहरु हुनेछन्।

अहिलेसम्म नेपालले ९ स्वर्ण जितेको करातेका खेल आजदेखि सकिँदैछन्। तेक्वन्दोमा आज थप ६ वटा स्वर्णपदकका लागि प्रतिष्पर्धा हुनेछ। उसुको गिरोगीतर्फ आज दुई स्वर्ण पदकको टुंगो लाग्नेछ।

आज ब्याडमिन्टनका क्वाटरफाइनल खेल हुनेछन्। ह्याण्डबल र कबड्डीका खेल आजदेखि शुरू हुँदैछन् भने एथलेटिक्सका विभिन्न इभेन्टका प्रतिष्पर्धा आज पनि जारी रहनेछन्।

खो–खोमा महिला र पुरुषतर्फको स्वर्णपदकको छिनोफानो आज हुनेछ। आज गल्फमा दोस्रो चरणका खेल हुनेछन् भने सुटिङ, टेबलटेनिस र ट्रायथलनका खेल पनि जारी रहनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here