नेपालद्वारा भुटान १४१ रनले पराजित,नेपालको एकै दिन तीन रेकर्ड

काठमाडौं,१९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानलाई एक सय ४१ रनको अन्तरले हराएको छ ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको शानदार शतकको मद्दतमा २३७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै ९५ रन मात्रै बनायो ।

विशाल लक्ष्य पक्ष्याएको भुटानले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि भुटानले ३७ रन बनाउँदा तीन विकेट खेर फाल्यो । त्यसपछि पनि उसले एकपछि अर्को विकेट गुमाउँन पुग्यो । जसमा भुटानले ७९ रन बनाउँदा पाँच विकेट गुमायो ।

भुटानका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रनजुङ दोर्जीले २७ रन बनाए भने सोनम टोग्बेले १५ र टोब्डेन सिंगेले ११ रनको योगदान गरे ।

नेपालका लागि पारस खड्काले सर्वाधिक दुई विकेट लिए । यस्तै करन केसी, पवन सर्राफ, ललित राजवंशीले समान एक–एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले ।

टी २० मा पहिलो शतक बनाएका मल्ल कप्तानको रुपमा नेपालका लागि शतक बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि पारस खड्काले टी २० मा शतक बनाएका थिए ।

कीर्तिपुर मैदानमा ज्ञानेन्द्र र पारसको जोडीले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गरेको थियो । पारस अर्धशतकीय पारि खेल्दै आउट भए । पारसले २८ बलको सामना गर्दा ९ चौका र एक छक्का प्रहार गरेका थिए । यसैगरी दोस्रो विकेटको रुपमा रोहितकुमार पौडेल आउट भए । उनी ६रन बनाए आउट भएका थिए ।

तेस्रो विकेटको रुपमा आउट भएका कप्तान मल्लले १०७ रन बनाए । ५३ बलमा शतक बनाएका ज्ञानेन्द्रले समग्रमा ९ छक्का र ५ चौका प्रहार गरे । यस्तै उप कप्तान दीपेन्द्रसिंह ऐरी ४५ रनमा नट आउट रहँदा आरिफ शेख पनि ४ रनमा अविजित रहे । भुटानका कर्मा दोर्जीले २ तथा तोब्दे सिंगेले १ विकेट लिए ।

आजको खेलमा तीन वटा रेकर्ड बनेका छन् । कप्तान मल्लको पहिलो शतक हो भने नेपालले पहिलो विकेटका लागि गरेको सर्वाधिक ठूलो साझेदारी पनि हो । यस्तै नेपालले सर्वाधिक धेरै रनको रुपमा रेकर्ड बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here