पुनर्निर्माण प्राविधिकको आन्दोलन स्थगित, आजैदेखि काममा फर्किने

काठमाडौं, १२ चैत । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत भुकम्प प्रभावित जिल्लामा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कने भएका छन् ।
मंगलवार प्राधिकरणसँग सहमति गरी उनीहरुले आफ्नो आन्दोलन अगाडि नबढाउने निर्णय गरेका हुन् ।

नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण – प्राविधिक राष्ट्रिय हकहित समितिबीच पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्र अनुसार प्रोत्साहन भत्ता सहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन सहमति भए पछि प्राविधिकहरु काममा फर्कन सहमत भएका हुन् ।

प्राधिकरण, एशोसियशन र समितिबीच छलफल भई गरिएको निर्णयमा आजकै मितिदेखि आन्दोलनका कार्यक्रम स्थगन गरी काममा फर्कने निर्णय गरियो भन्ने उल्लेख गरिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अर्थ मन्त्रालयको सहमति अनुसार प्राविधिकहरुलाई प्रोत्सान भत्ता लगायतका सुविधाबारे उल्लेखित समयमै मन्त्रिपरिषदबाट निर्णय आउने विश्वास व्यक्त गरेका छन् ।

यही चैत १० गते अर्थ मन्त्रालयले प्राविधिकहरुलाई प्रोत्साहन भत्ता लगायतका सुविधा उपलब्ध गराउने प्रस्तावमा सहमति प्रदान गरेको थियो ।

यसअघि आजै एशोसियशन र समितिबीच तीन बुँदे सहमति भएको थियो ।

प्राविधिक राष्ट्रिय हकहित समितिले गत साउनदेखिकै अतिरिक्त समय काम गरे वापतको भत्ता एवं दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने लगायतमा माग राखि दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here