ग्लोबल र जनताले थाले एकीकृत कारोबार,‘ग्लोबल आईएमई’ सबैभन्दा ठूलो बैंक

काठमाडौं, २० मंसिर । ग्लोबल आइएमई र जनता बैंक मर्ज भई एकीकृत कारोबार सुरु गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार बिहान बैंकको काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमका साथ एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्।

मर्जसँगै ग्लोबल बैंक सबैभन्दा ठूलो बैंक बनेको छ । यस्तो वित्तीय विवरण हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको छैन ।

गत वर्ष स्थापना भएको इन्फास्ट्रक्टर बैंकको २० अर्ब चुक्ता पुँजी छ । बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

त्यसैगरी, ७७ वटै जिल्लामा ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।

मर्जरपछि सञ्चालक समितिको अध्यक्षमा हाल ग्लोबल आइएमइका अध्यक्ष चन्द्रप्रसाद ढकालले नै रहनेछन् । सञ्चालक समितिमा ग्लोबल आइएमईबाट पाँच जना र दुई जना जनता बैंकबाट रहने सहमति भएको छ ।

मर्जरपछि बन्ने नयाँ बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुँवर क्षेत्री रहने छन् । कुँवर हाल जनता बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । वरिष्ठ डेपुटी सीईओमा ग्लोबल आइएमई बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल रहने छन् ।

राष्ट्र बैंकले धमाधम लाइसेन्स बाँड्दै गर्दा स्थापना भएका १७ वाणिज्य बैंक मध्येकै बैंक हुन् ग्लोबल आईएमई बैंक र जनता बैंक । ग्लोबल आईएमई बैंकले नेपाल राष्ट्र बैंकबाट लाइसेन्स पाएर औपचारिक रुपमा कारोबार सुरु गरेको २०६३ साल पुस १८ गते देखि हो । यो १९ औं वाणिज्य बैंक हो । त्यस्तै जनता बैंकले भने २०६६ चैत २३ गतेदेखि आफ्नो कारोबार सुरु गरेको हो । यो २७ औं वाणिज्य बैंक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here