सागमा १३ खेल हुँदै, गौरिकालाई अर्को इतिहास रच्ने अवसर

काठमाडौं, २३ मंसिर । १३ औैँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत सोमबार १३ खेल हुँदैछन् ।

सोमबार क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्तीमा प्रतिस्पर्धा हुदैँछ । कुस्ती खेल जनकपुरमा हुने छ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुने छ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् ।

पौडीका ८ स्पर्धामा स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जारी सागमा तीन स्वर्ण पदक जितिसकेकी गौरिकाले सोमबार दुई स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छिन् ।

उनले १०० मिटर फ्रि स्टायल र चार गुणा १०० मिटर मिड्ले रिले स्पर्धामा स्वर्णका लागि खेल्ने भएकी हुन् । राम्रो प्रदर्शन गरिरहेकी नेपाली पौडी खेलाडी गौरिका सिंहलाई पौडीका स्पर्धाको अन्तिम दिन सोमबार इतिहास रच्ने अवसर छ ।

दुवै स्पर्धामा स्वर्ण जित्न सकेमा उनले सागमा सर्वाधिक स्वर्ण पदक जित्ने नेपाली खेलाडीको नयाँ कीर्तिमान बनाउने छिन् । अहिले यो कीर्तिमान दीपक विष्टको नाममा छ ।

विष्टले ८ औँ देखि ११ औँ सागसम्ममा चारवटा स्वर्ण पदक जितेर सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान बनाएका हुन् । गौरिकाले सोमबार एक मात्रै स्वर्ण जितेमा दीपकको कीर्तिमानसँग बराबरी गर्ने छिन् ।

गौरिका सिंह एउटै सागमा सर्वाधिक स्वर्ण जित्ने खेलाडी हुन् । उनले जारी सागमा तीन स्वर्ण, दुई रजत र दुई कास्य गरी सात पदक जितेकी छन् ।

त्यस्तै कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुने छ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दा कास्य पदकका लागि नेपाल र माल्दिभ्स भिड्ने छन् ।

बास्केटबलमा साेमबार सेमिफाइनलको खेल हुँदै छ । सेमिफाइनलमा नेपाल र भारत तथा श्रीलंका र बंगलादेशले खेल्ने छन् ।

महिलाको इभेन्टमा नेपाल र माल्दिभ्स तथा भारत र भुटान भिड्ने छन् । थ्री बाई थ्री बास्केटबलको सेमिफाइनल र फाइनल खेल साेमबार नै हुने छ । बक्सिङमा साेमबार ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ । आर्चरमा पनि ४ स्वर्ण पदकको छिनोफानो लाग्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here