कहाँ छन् यी कमाण्डर ? सूचना दिनेलाई १ अर्ब ७० करोड पुरस्कार

एजेन्सी २३ मंसिर । अमेरिकी विदेश मन्त्रालयले इरानको सेना इस्लामिक रिभोलुस्नरी गार्ड कोर्प (आईआरजिसी) का एक अधिकृतबारे सूचना दिनेलाई अर्बौं बराबरको पुरस्कार दिने घोषणा गरेको छ ।

अमेरिकी विदेशमन्त्रालयले आईआरजिसीका अधिकृत अब्दुल रेजा शाहलाइबारे सूचना दिने जो कोहीलाई पनि १५ मिलियन अमेरिकी डलर (नेपाली रु १ अर्ब ७० करोड) पुरस्कार दिने घोषणा गरेको हो । विदेशमन्त्रालय अन्तर्गतको रिवार्ड फर जस्टिस शाखाको ट्विटमार्फत् यस्तो जानकारी दिइएको हो ।

अरब सागरमा अमेरिकी सेनाले इरानमा बनेका अत्याधुनिक हतियार र मिसाइल कब्जा गरेको केही दिनमा नै रेजाबारे सूचना दिनेलाई भारी रकमको पुरस्कार घोषणा गरिएको हो । अमेरिकी सेनाले नोभेम्बर २५ गते यमन लैजान लागिएको अवस्थामा ठूलो परिणामका हतियार र मिसाइल कब्जामा लिएको थियो ।

विदेशमन्त्रालयको ट्विटमा अब्दुल रेजाको हालैको तस्बिर समेत राखिएको छ । रेजाले आतंकवादी क्रियाकलाप गरेको र यमनमा सक्रिय हुथी विद्रोहीलाई अत्याधुनिक हतियार उपलब्ध गराएको अमेरिकाको आरोप छ ।

अब्दुल रेजा हाल कहाँ छन् भनेर कसैलाई थाहा छैन । उनी यमनमा रहेको हुन सक्ने अमेरिकी अधिकारीले आशंका गरेका छन् ।

रेजा, उनले यमनसहित मध्यपूर्वमा गरिरहेका क्रियाकलाप, बनाइरहेका सञ्जाल र उनका सहयोगीबारे सूचना दिनेलाई ठूलो रकमको पुरस्कार दिने घोषणाले मध्यपूर्वमा तहल्का नै मच्चाएको छ ।

बुधबार इरानका लागि अमेरिकी विशेष दूत ब्रायन हुकले अमेरिकी नागरिक र अमेरिकाका सहयोगी राष्ट्रमाथि भएका आक्रमणमा रेजाको हात रहेको बताएका थिए । यही भएर विदेशमन्त्रालयले उनलाई खोजिरहेको हुकको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here