काठमाडौं, २४ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा नेपालले स्वर्ण जितेको छ।
त्रिपुरेस्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई २- १ गोलले पराजित गर्दै नेपालले स्वर्ण जितेको हो । नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए ।
भुटानले खेलको ३८ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । भुटानका लागि कप्तान चेम्चो ग्याल्चेनले गोल फर्काएका थिए ।
खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोलसंख्या दोब्बर बनाएका थिए । जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ । नेपाल १२ औं सागको स्वर्ण विजेता हो ।
नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।