घरमा फर्कियो फूटबलको रौनक, आजबाट शहीद स्मारक लीग

काठमाडौं, २८ मंसिर । कुनै पनि खेलमा राम्रा खेलाडी उत्पादन गर्ने माध्यम मानिन्छ घरेलु लीग । संसारभर कि एकेडेमी कि क्लव फूटबलकै माध्यमबाट राम्रा खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाउँछन् ।

१२ वैशाखको भूकम्पले देशको एक मात्र स्तरीय फूटबल मैदान दशरथ रंगशाला भत्काइदिएपछि घरेलु लीग पनि अस्तव्यस्त भयो । काठमाडौं केन्द्रित मानसिकताका कारण फूटबललाई मोफसलसम्म लैजाने वातावरण बनेन ।

फलस्वरुप एन्फा फेरी पनि दशरथ रंगशालाकै प्रतिक्षामा बस्यो । अन्ततः पुनर्निर्माण सकियो । अब आजदेखि देशको सबैभन्दा ठुलो घरेलु लीग शहीद स्मारक ए डिभिजन लीग शुरु हुँदैछ ।

शनिबार लीगको औपचारिक प्रारम्भ हुँदैछ । विराज महर्जनको कप्तानीमा मच्छिन्द्र क्लव र निल गुरुङको कप्तानीमा रहेको ब्रिगेड ब्वाइज क्लबबीच शनिबार लीगको उद्घाटन खेल हुँदैछ ।

यस पटकको लीगमा यी दुई क्लवलाई उपाधी दावेदारसमेत मानिएको छ । किनकी यी क्लवले राष्ट्रिय टोलीका अधिकांश खेलाडी समेटेर बलियो टोली बनाएका छन् ।

भूकम्प अगाडी नेपालमा फूटबलको ठूलो क्रेज थियो । घरेलु लीगमा पनि उत्तिकै दर्शक थिए । त्यसपछि फूटबलमा अनेक काण्ड आए ।

घरमा फूटबलको रौनक हरायो । अब घरमा फर्किएको फूटबलले कति रौनक ल्याउँछ त्यो भने हेर्न बाँकि छ । यस पटक लीग विजेता क्लवले ५० लाख रुपैयाँ पाउने छ । शनिबार हुने भीडन्तमा मछिन्द्रले राष्ट्रिय टोलीका सदस्य सम्मिलत बलियो टोली मैदान उतार्नेछ ।

राष्ट्रिय टिमको नेतृत्व गरिसकेका विराजसहित साग फुटबलमा स्वर्ण जितेका यू २३ टोलीका कप्तान सुजल श्रेष्ठ यसै टोलीमा छन् ।

यू १९ राष्ट्रिय टोलीका कप्तान रेजिन सुब्बासहित विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अभिषेक रिजाल, देवेन्द्र तामाङलगायत खेलाडी मछिन्द्रमा छन ।

उता ब्रिगेड ब्वाइजमा भने अनिलसँगै बृजेश चौधरी, शिशिर लेखी, रन्डिप पौडेल, रोशन राना मगर, रोशन दोङ जस्ता यू १८ टोलीका यूवा खेलाडीको बाहुल्य रहेको छ ।

यस पटक शहीद स्मारक लीगले कतार एयरवेजको प्रयोजन समेत प्राप्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here