सामाजिक सुरक्षा कार्यक्रमका विषयमा परिसंघ र श्रम सचिवबीच छलफल

काठमाडौं, ३० मंसिर । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनः ध्यानाकर्षण गराएको छ ।

आइतबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहल लिन आग्रह गरेका हुन् ।

अध्यक्ष मोरले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव यसअघि नै पेस गरे पनि त्यस अनुसार समस्या समाधान नभएकाले थप पहल आवश्यक रहेको बताए ।

अध्यक्ष मोरले योगदानकर्ता श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा, दोहोरो कर तथा कोषले योगदानकर्ताका लागि दिने लगानी नीतिका बारेमा छिटो निर्णयमा पुग्न आवश्यक रहेको तर्फ मन्त्रालयको ध्यान पुग्नु पर्ने प्रस्ट पारे ।

सामाजिक सुरक्षाका अलावा आन्तरिक तथा बाह्य क्षेत्रमा रोजगारीका अवसर सृजनामा सरकारसँग थप सघन सहकार्यका लागि परिसंघ तयार रहेको उनले बताए । सो अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले परिसंघले दिएका सुझाव कार्यान्वयन भए श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि हुने र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सक्ने विश्वास व्यक्त गरे ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसीले पसिसंघका सुझावबारे मन्त्रालय गम्भिर रहेको र कार्यक्रमलाई प्रतिफलमुखी बनाउदै जान पहल भइरहेको जानकारी दिए ।
श्रम सचिव केसीले श्रम बजारलाई व्यवस्थित गर्न तथा रोजगारीको अवसर सृजना गर्न परिसंघसँगको सहकार्य बढाउदै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघि पनि परिसंघले सामाजिक सुरक्षा तथा श्रमसँग जोडिएका विषयमा रोजगारदाता तथा श्रमिकका सुझाव समेटेर परिसंघले श्रम मन्त्रालयमा सुझाव प्रतिवेदन पेस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here