‘तल्लो वर्गलाई माथि उठाउने गरि अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ’

काठमाडौं, ४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब सहकारीले बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्नुपर्ने बताएकी छन्।

शुक्रबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको २८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारी क्षेत्रलाई डिजिटलाइज्ड गर्नुपर्ने बताइन्।

उनले हिजोका दिनमा एक महिना लाग्ने काम अब एक दिनमा सम्पन्न हुनेगरी समयसापेक्ष प्रविधिको प्रयोग गर्न आग्रह गरिन्। ‘हिजो एक महिना लाग्ने काम अब एक दिनमा हुनुपर्छ।

अहिलेका बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने प्रतिस्पर्धी क्षमताको विकास सहकारीहरुले गर्नुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘अब सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउ। त्यसपछि हामी अगाडी बढ्न सहज हुन्छ।’

सहकारी क्षेत्रमा केही सम्भाव्य खतराहरु देखापरेको भन्दै मन्त्री अर्यालले अब सहकारीका सञ्चालक सदस्यहरुले प्रत्येक वर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने बताए। अब परम्परावादी ढंगले सहकारी चल्न नसक्ने भन्दै समयसापेक्ष सहकारीले प्रविधिको प्रयोग गर्नुपर्ने बताइन्।

सहकारी अभियानले संख्या बढाउने भन्दा पनि गुणस्तरियतामा प्राथमिकता दिनुपर्ने उनको सुझाव छ। ‘संस्था धेरै भएर मात्र प्रगति हुँदैन त्यसैले वित्तिय कारोबार बढी गर्ने संस्थाहरुबीचमा मर्जर गर्न खोजिएको हो’, उनले भनिन्।

कृषिको आधुनिकिकरण, यान्त्रिकिकरण र औद्योगिकिकरणमा राज्य अगाडी बढ्ने भन्दै त्यसको अगुवाई सहकारीले गर्नुपर्ने मन्त्री अर्यालको भनाइ छ। राष्ट्रिय पूँजीको निर्माण आजको मूल विषय भएको भन्दै उनले उत्पादन र उत्पादकत्व वृद्धि नगरी राष्ट्रिय पूँजी निर्माण हुन नसक्ने दाबी गरिन्।

सहकारीसँग तल्लो तहसम्मका जनतालाई मोटिभेशन गर्ने शक्ति छ, मन्त्री अर्यालले भनिन्, ‘२/४ जनाले प्रगति गरेर हुँदैन। तल्लो वर्गलाई माथि उठाउने गरी अबको सहकारी गतिविधि संचालन गर्नुस्।’

निम्न वर्गलाई सदस्य बनाएर आफ्नो सदस्यलाई माथि उठाउने गतिविधि गर्न आग्रह गर्दै मन्त्री अर्यालले आफ्नो सदस्यहो हितका पक्षमा काम गर्न आग्रह गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here