भोलीदेखि रक्तसञ्चार सेवा कार्यालय कालीमाटीमा

काठमाडौं, १६ चैत । ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालीमाटी सर्ने भएको छ । रक्तसञ्चारका सम्पूर्ण सेवा तथा गतिविधिहरु आईतबारदेखि सोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन हुँदैछ ।

वि. सं. २०७२ बैशाखको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि २०७२ पुसदेखि आपत्कालीन सेवा केन्द्र बालकुमारी, ललितपुरबाट रक्तसञ्चार सेवा सञ्चालन हुँदै आएको थियो ।

‘सेवाकेन्द्रबाट हुदै आएका स्वयंसेवी रक्तदाताहरुबाट संकलन गरिएको रगतको परीक्षण र भण्डारण गर्ने र विरामीहरुको लागि आवश्यक रगतको प्रकार खुलेको चिकित्सकको पूर्जा लिईआएका सेवाग्राहीलाई रगत उपलव्ध गराउने काम चैत १७ गते आइतबारदेखि नयाँ सेवा भवन कालिमाटीबाट नै हुनेछ,’ नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

यसबाहेक दाता व्यक्ति, संस्थाहरुबाट रक्तसंकलनको समन्वय, रक्त संकलनको लागि उत्प्रेरणात्मक गतिविधि तथा देशभरका विभिन्न ७३ जिल्लाका १०८ स्थानमा रहेका नेरेसोका रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूको समन्वय तथा सहयोग लगायतको कामहरु पनि कालीमाटीबाटै हुनेछ ।

ललितपुरको बालकुमारीमा स्थान अभाव भई साँगुरो भएको, धेरै सेवाग्राहीलाई यातायात सेवाको दृष्टिले अपायक परेको गुनासो निरन्तर आएपछि थाइ रेडक्रसको सहयोगमा कालीमाटीमा नयाँ भवन निर्माण गरिएको हो ।

भूकम्पले क्षति बनाएको भृकुटीमण्डपमा भवन निर्माण कार्य भइरहेको र सो भवनको निर्माण सम्पन्न भएपछि भने त्यहीँबाटै सेवा सुरु हुने जानकारी नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले दिए ।

रक्तसञ्चार सेवा प्रदान गर्दा रगतको माग र आपूर्तिलाई सन्तुलन गर्न नेपाल रेडक्रस सोसाइटी लागि परेको र रक्तदानमा सचेतना बढाउन आवश्यक रहेको कुरामा पनि उनले जोड दिए ।
२०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here