८ लाखले अझै पाएनन स्मार्ट लाइसेन्स, छपाइ अनुगमनमा पुगे मन्त्री

काठमाडौं, ५ पुस । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले स्मार्ट लाइसेन्स वितरणलाई सहज बनाउन पहल थालेका छन् ।

स्मार्ट लाइसेन्स छपाइको छड्के अनुुगमन गर्न सनिबार दिउसो यातायात व्यवस्था कार्यालयमा पुगेका मन्त्रीले ट्रायल पास गरेर एक बर्षसम्म लाइसेन्स नपाउने अवस्थाको अन्त्य गरी सहज रुपमा लाइसेन्स वितरण गर्ने व्यवस्था मिलाउन आफुले प्रयास गरेको बताए ।

स्मार्ट लाइसेन्स छाप्नका निम्ति सञ्चालनमा लिइएको मास प्रिन्टको वस्तुस्थिति बारे पनि उनले जनकारी लिएका छन् ।

अहिले सञ्चालनमा आएको उक्त मास प्रिन्टले दैनिक १० हजार प्रति स्मार्ट लाइसेन्स प्रिन्ट गर्छ । यस मेसिनले प्रभावकारी रुपमा काम गरे लाइसेन्सको समस्या चार महिनामा समाधान हुनेछ । ट्रायल पास गरेका करिव ८ लाखले अझै लाइसेन्स पाएका छैनन् ।

त्यस्तै मन्त्री नेम्बाङले माइतीघर तीनकुने सडक मर्मत कार्यको पनि अनुगमन गरेका छन् ।

उनले सडक मर्मतकार्यको अनुगमनका साथै त्यहाँ विछ्याइएको अस्फाल्टको परीक्षण समेत गराएका थिए । अस्फाल्टको तह ६ सेन्टिमिटर रहेको पाइएको मन्त्रीको सचिवालयले बताएको छ ।

निर्माणमा खटिएकी इन्जिनियर सजना अधिकारीले अस्फाल्टको तह चार सेन्टिमिटर हुने तर अहिले रोलरले नथिचिएकाले छ सेन्टिमिटर रहेको बताइन् ।
अघिलो शनिबारदेखि यो सडक खण्डको आवधिक मर्मत कार्य भइरहेको छ । ट्राफिक चापका कारण शनिबार–शनिबार मात्र काम भइरहेको र आउँदो शनिबार निर्माण कार्य सक्ने लक्ष्य राखिएको इन्जिनियर अधिकारीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here