झापा, ६ पुस । झापा- कक्षा १२ सम्म अनिवार्य अध्ययन गर्ने शर्तमा झापा गाउँपालिकाले छात्रालाई निः शुल्क साइकल वितरण गरेको छ ।
मुस्लिम र आदिवासी राजवंशीको धेरै बसोबास रहेको सो गाउँपालिकाले ती समुदायका छात्रालाई विद्यालय शिक्षामा आकर्षित गराउन निःशुल्क साइकल वितरण गरेको हो । हालसम्म १३८ छात्राले साइकल प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।
साहका अनुसार गाउँपालिकाले चालू आर्थिक वर्षको बजेटमा २३५ छात्रालाई साइकल बाँड्ने गरी बजेट विनियोजन गरेको छ । मुस्लिम र आदिवासी समुदायका छात्राले माध्यमिक तहको शिक्षा पूरा नगर्दै विद्यालय छाड्ने समस्यालाई अन्त्य गर्न र शिक्षातर्फ आकर्षण बढाउन साइकल वितरण कार्यक्रम कार्यान्वयन गरेको पालिकाले जनाएको छ।
हालसम्म कक्षा ९ मा अध्ययनरत जनकल्याण माविका २०, कुवाडी देवी माविका ३३ र जनता माविका ८५ छात्राले साइकल पाइसकेका छन् । डिल्लीराज माविका ९७ छात्रालाई आगामी साता साइकल वितरण गरिने उनले बताए ।
गत महिना सोही गाउँपालिकाले ५० भन्दा बढी महिला स्वयंसेविकालाई समेत निःशुल्क साइकल बाँडेको थियो । शिक्षामा लगानी बढाउँदै नमूना बनिरहेको सो गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी प्राविधिक शिक्षा पढ्ने सबै छात्रछात्रालाई जनही १२ हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिने तयारी गरिरहेको छ ।
सो कार्यका लागि हाल नाम सङ्कलन भइरहेको अध्यक्ष साहले जानकारी दिए । रासस