काठमाडौं, १६ चैत । नेपालमा विदेशी लगानी भित्र्याउनका लागि आयोजना गरिएको लगानी सम्मेलनमा विशेष निम्तामा आएका पाहुनाहरुले आफ्नै विज्ञापन गरेका छन् ।
सरकारले उद्घाटन सत्रमै मञ्चमा विशेष स्थान दिएका भारतीय र म्यानमारी प्रतिनिधिले आफ्नै विज्ञापन गरे ।
म्यानमार (बर्मा)का लगानी तथा विदेश आर्थिक मामिला मन्त्री यु थाङ टुङले नेपालमा विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने गरी सम्बोधन गरेनन् बरु आफ्नो मुलुक पनि लगानीका लागि उपयुक्त स्थान भएको प्रचार गरे ।
टुङले आफ्नो सम्बोधनमा नेपालमा बर्मेली लगानी ल्याउनेबारे फिटिक्कै चर्चा गरेनन् । कसरी आफ्नो सरकार वा त्यहाँको निजीक्षेत्रले नेपालमा लगानी आकर्षित गर्न सहयोग गर्न सक्छन् पनि भनेनन् । नेपालको अपेक्षा विपरत दुवै मुलुक उस्तै भएको बताउँदै लगानी सम्मेलनको मञ्चलाई उनले आफ्नै देशको विज्ञापनका लागि प्रयोग गरे ।
टुङलाई पछ्याउँदै म्यानमारको निजीक्षेत्रको प्रतिनिधित्व गर्दै सम्मेलनमा आएका सर्ज पुनले पनि आफ्नै मुलुकको विज्ञापन गरेका थिए । पहिलो दिन आयोजना भएको ‘औद्योगिक आधार र रोजगारी सिर्जना’ विषयको समानान्तर सत्रमा बोल्दै पुनले नेपालमा लगानीको अवसर खोज्दै आएका लगानीकर्तालाई आफ्नो मुलुकमा लगानी गर्न आग्रह गरेका थिए । उनीहरुले आयोजकले गरेको आतिथ्यको सामान्य संहिता पनि विर्सेको देखियो भने सहभागीहरुमा हाँसो र आन्यौल छाएको अनुभुति भएको थियो ।
त्यसैगरी, भारतको मुतहुत ग्रुपका अध्यक्ष एमजी मुतहुतले पनि आफ्नो व्यवसाय र खासगरी मुतहुत फाइनान्सका विशेषताहरुको व्याख्या गर्दै समय विताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको र उनको सरकारको मुक्त कण्ठले प्रसंशा गर्दै मन्तव्य शुरु गरेका उनले मुतहुतले भारतबाट नेपालमा पैसा पठाउन सहयोग गरेको भन्दै त्यो व्यवसाय विस्तार गर्न चाहेको बताएका थिए ।
मुतहुत फाइनान्स सुन धितो कर्जाका लागि चर्चित छ । यसले हालै नेपालको युनाइटेड फाइनान्समा लगानी गरेको छ ।
नेपाल उदाउँदो अर्थतन्त्र
विश्व बैंकका उपाध्यक्ष हार्टविग शेफरले नेपाल लगानीका लागि ज्यादै उपयुक्त गन्तव्य भएको बताएका छन् । लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले नेपाल दक्षिण एशियाको उदाउँदो तारा हो भनेका थिए ।
उनका अनुसार नेपालका समष्टिगत आर्थिक परिसूचक तथा सामाजिक तथा मानव विकास सूचकांक द्रुत गतिमा सुधार भइरहेको बताउँदै उनले भविष्यमा आवश्यक परेका लगानी तथा प्राविधिक हर प्रकारका सहयोग गर्ने जानकारी दिए ।




















