६१ जिल्लामा टेलिकमको फोरजी,फाइभजीको सम्भाव्यता अध्ययन सुरु

जितेन्द्र खनाल

काठमाडौं, ६ पुस । सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको फोरजी सेवा ६१ जिल्लामा पुगेको छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार टेलिकमले विस्तार गरेको फोरजी सेवा विभिन्न ६१ जिल्लामा पुगेको छ ।

‘टेलिकमको फोरजी सेवा विभिन्न ६१ जिल्लामा पुगेको छ’ उनले भनिन्, ‘यसमा ७ वटै प्रदेश समावेश छन् ।’

झण्डै दोब्बर भए फोरजी प्रयोगकर्ता

प्रवक्ता वैद्यका अनुसार दुर्गम स्थानमा पनि फोरजी विस्तार भएसंगै टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या दोब्बर पुगेको छ ।

विस्तार हुनुपूर्व ८ लाख मानिसले फोरजी सेवा सुचारु गरेकोमा दुर्गममा पनि फोरजी विस्तार भएपछि यो संख्या बढेर १५ लाखको हाराहारीमा पुगेको पनि प्रवक्ता वैद्यले बताइन् ।

‘फोरजी प्रयोगकर्ताको संख्यामा उत्साहजनक प्रगति भएको छ, पछिल्लो ४ महिनाको मात्रै कुरा गर्ने हो भने पनि यो संख्यामा दोब्बर वृद्धि भएको छ’ उनले भनिन्, ‘४ महिना पहिले ८ रहेका फोरजी प्रयोगकर्ता अहिले बढेर १५ लाख को हाराहारिमा पुगेका छन् ।’

९ सय ४ स्थानमा टेलिकमको फोरजी

प्रवक्ता वैधका अनुसार ६१ जिल्लाका ९ सय ४ स्थानमा टेलिकमको फोरजी सेवा विस्तार भएको छ । फोरजी विस्तारपछि सहर तथा ग्रामिण क्षेत्रको धेरै स्थानमा फोरजी विस्तार भएको पनि उनले बताइन् ।

‘हाल टेलिकमको फोरजी सेवा विभिन्न ९ सय ४ स्थानमा जडान गरिएको छ ।’ उनले भनिन् ‘सुगम तथा दुर्गम दुवै गरेर यो संख्या ९ सय ४ पुगेको हो ।’

दुर्गममा झनै लोकप्रिय फोरजी सेवा

प्रवक्ता वैद्यका अनुसार दुर्गम भनिएका स्थानमा फोरजी झनै लोकप्रिय बन्दै गएको छ । त्यहाँका मानिसहरु झनै उत्साहित छन् । ‘हामीलाई पनि शंका थियो कतै दुर्गममा फोरजी प्रयोगकर्ता कम हुने त होइनन् भन्ने तर, हामी गलत निस्कियौं’ ।

उनले भनिन्, ‘दुर्गमका मानिसहरु झनै उत्साहजनक देखिए, मलाई बाग्लुङ लगायतका स्थानबाट पत्रकारहरुले फोन गरिरहन्छन् त्यहाँका मानिसहरु पनि उत्साहित छन् भन्ने खबर दिन्छन् ।’ अहिले प्रयोगमा रहेको थ्रीजीभन्दा उच्च गतिको इन्टरनेट प्रयोग गर्नसकिने र खास गरी भिडियो कन्टेन्टका लागि फोरजी उपयोगी प्रविधि मानिन्छ ।

७७ वटै जिल्लामा पुग्न अब धेरै समय लाग्दैन्

टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुग्न अब धेरै समय नलाग्ने कुरा प्रवक्ता वैंधले बताएकी छिन् । ‘हामी ६१ जिल्ला र विभिन्न ९ सय स्थानमा पुगिसक्यौं’ उनले भनिन्, ‘अब ७७ वटै जिल्लामा पुग्ने धेरै समय बाँकी छैन् ।’

टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो ।

फाइभजीको पनि सम्भाव्यता अध्ययन सुरु

प्रवक्ता वैद्यका अनुसार टेलिकम अब फाइभजी विस्तारको लागि सम्भाव्यता अध्ययनमा लागेको छ । प्रविधिको, विकास र जनताको माग अनुसार अब टेलिकमको लक्ष्य फाइभजी विस्तार लाग्ने कुरा प्रवक्ता वैद्यले बताइन् ।

‘अब टेलिकम फाइभजी विस्तारको लागि कसरतमा लाग्छ’ उनले भनिन्, ‘हामी सम्भाव्यता अध्ययनको लागि काम गर्दैछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here