बिहीबार खण्डग्रास सूर्यग्रहण : कुन राशिलाई शुभ, कुनलाई अशुभ ?

काठमाडौं,७ पुस । पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ। बिहान १०ः०१ बजे मध्य हुने ग्रहण ११ः३१ बजे समाप्त हुनेछ। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले सुनाए। ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

कुन राशिलाई शुभ, कुनलाई अशुभ ?

२०७६ साल पौष १० गते बिहान औंसी तिथिका दिन सूर्य ग्रहण लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेटबाट स्पर्श गरि बिहान ११ बजेर १ मिनेटमा मध्य हुँदै बिहान ११ बजेर ३१ मिनेटमा मोक्ष हुनेछ ।

खण्डग्रास सूर्य ग्रहण नेपाल, भारत, श्रीलंका लगायत एशियाका सबै देशबाट देख्न सकिनेछ भने हिन्द महासागर, मलेसिया, पूर्वी यूरोप, उत्तररपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीका लगायत अधिकांश भागबाट देख्न सकिनेछ ।

नेपाली समय अनुसार पौष १० गते बिहान ८ बजेर ४२ मिनेटमा स्पर्श हुन्छ र बिहान १० बजेर १ मिनेटमा मध्य हुँदै बिहान ११ बजेर ३१ मिनेटमा सकिनेछ । खण्डग्रास सूर्य ग्रहणको अवधि २ घण्टा ४९ मिनेटको हुनेछ । खण्डग्रास सूर्यग्रहण पश्चिम र दक्षिणकोबीच भागबाट शुरु भएर पूर्व र दक्षिणको बीचबाट सकिनेछ ।

पौष ९ गते बुधबार नेपाली समय अनुसार बेलुकी ८ बजेर ४२ मिनेटदेखि बालक, वृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरुलाई भोजन निषेध गरिएको छ ।

ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, काट्ने, विभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण निर्णयहरु आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ ।

यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।

ग्रहणको समयमा तन्त्र मन्त्रको जप गर्ने,ध्यान गर्ने तथा आफ्नो जन्म कुण्डली अनुसार कुन दशा ग्रह चलेको छ त्यसको जप शान्ति गर्नाले हजारौँ गुण फल मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । जस्तै चारवेद, पुराण,गिता तथा उपनिशद जस्ता शाश्त्रको अध्ययन तथा मनन गर्नु लाभदायक हुनेछ ।

हामी बस्ने ठाउँमा बिकिरण तथा नकारात्मक उर्जा तथा किरण घरभित्र प्रवेश गर्ने हुनाले खानेकुराहरु पकाएर खाने तथा राख्नु हुदैन । बाल बच्चा,वृद्ध तथा अशक्तहरुको लागि राख्नै परे घरको मुल गेटमा तथा खानेकुराको छेवैमा गाईको गोवर राख्नाले ग्रहणबाट आउने विकिरण तथा नकारात्मक उर्जा रोक्दछ ।

जुन नक्षत्र र जुन राशिमा ग्रहण लाग्दछ त्यो नक्षत्र र राशि भएका व्याक्तिहरुलाई कष्ट हुने शास्त्रमा उल्लेख गरिएको छ । पौष १० गते मूल नक्षत्र र धनु राशिका व्यक्तिहरुले सजक हुनुपर्नेछ । १२ राशि भएका व्याक्तिहरुका लागि ग्रहण फल यसप्रकार रहेको छ ।
मेष : माननाश
वृष : कष्टम्
मिथुन : स्त्रीपीडा
कर्कट : सौख्यम
सिंह : चिन्ता
कन्या : व्यथा
तुला : श्री प्राप्ति
बृश्चिक : क्षति
धनु : घात
मकर : व्यय
कुम्भ : लाभ
मीन : सुखम्

ज्योतिषी दुर्गा भण्डारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here